महामारीमा बालबालिकाको संरक्षण र सुरक्षाका लागि राष्ट्रिय बालअधिकार परिषदद्वारा कार्यक्रम घोषणा

महामारीमा बालबालिकाको संरक्षण र सुरक्षाका लागि राष्ट्रिय बालअधिकार परिषदद्वारा कार्यक्रम घोषणा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २५।

राष्ट्रिय बालअधिकार परिषद्ले कोरोना सङ्कटमा बालबालिकाको सहयोगका लागि अपतकालिन राहत तथा खाद्यान्न सामग्रीहरु उपलब्ध गराउनुको साथै बालबालिकालाई लक्ष्यित गरी सुचना केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
बालबालिकाको संरक्षण सुरक्षाका लागि यस अघि नै सञ्चालनमा रहेको बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन नेपाल १०९८ मार्फत बालबालिकाको सहयोगका लागि आएको सुचनाको आधारमा महामारीका कारण जोखिममा परेका लक्षित बालबालिकाको आवश्यकतालाई परिषद्का सम्बन्धित कर्मचारीको नेतृत्वमा अपतकालिन राहत तथा खाद्यान्न सामग्रीहरु उपलब्ध गराउने निर्णय परिषद्ले गरेको हो ।
विभिन्न कारणले परिषदबाट उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राखिएका बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि त्यस्ता संस्थामा संरक्षणमा रहेका बालबालिकाको संख्याको आधारमा २/२ जोर कपडा, मास्क, स्यानीटाइजर, अक्सिमिटर, थर्मोमिटर, स्वासप्रश्वास सम्बन्धी व्यायाम गर्ने उपकरणहरु र पारासिटामोल, कफ सिरप लगायतका आधारभूत औषधिहरु परिषद्ले उपलब्ध गराउने भएको छ ।
परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले अहिलेको सन्दर्भमा कुनै पनि बालबालिका तत्काल उद्धार गर्नु परेमा वा संरक्षणमा रहेका बालबालिकामा त्यस्तो कुनै लक्षण देखिएमा सम्बन्धित बाल हेल्पलाइन, बालबालिका खोजतलास समन्वय केन्द्र, अस्थायी संरक्षण सेवा प्रदायक संस्थाहरुले तत्काल पिसिआर वा एण्टिजेन परिक्षण गर्ने र कोरोनाका कारण प्रभावित बालबालिकाको लागि बालमैत्री स्वास्थ्य सेवा प्रवाह विषयमा नेपाल पेडियाट्रियक सोसाइटि र पिनानसँगको सहकार्यमा सातै प्रदेशमा भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी सचेतना फैलाउन तत्काल सुरु गरिने जानकारी दिएका छन  ।
यस अन्तरगत कोभिड–१९ बाट प्रभावित बालबालिकाको उपचारमा अपनाउनुपर्ने बालमैत्री विधिहरु, बालबालिकाको विशेष स्याहार, संरक्षण र सुरक्षा,बालबालिका लक्षित मनोसामाजिक परामर्श, बालमनोविज्ञान र उपचार पद्धतिका बारेमा छलफल चलाइनेछ ।
महामारीमा बालबालिकाको संरक्षणका विषयमा परिवार/अभिभावक सचेतनाका लागि अनलाइन माध्यमबाट सचेतनामूलक अभियानहरु सञ्चालन गरी सृजनात्मक क्रियाकलापहरु, बालबालिकाको संरक्षण र स्याहारका बारेमा बुझाइने कार्यकारी निर्देशक धरेलले बताएका छन  ।

बालबालिका लक्ष्यित सेवाका लागि कोभिड–१९ सुचना केन्द्र :

परिषदले अहिलेको विषयम परिस्थतीमा बालबालिकाको अवस्था सहज बनाउन कोरोना परिक्षण, उपचार, यसको रोकथाम र न्यूनीकरण तथा बालबालिका लक्षित सेवा सम्बन्धी विषयमा कोभिड–१९ सूचना केन्द्र सञ्चालन गर्ने भएको छ ।
यसका लागि काठमाडौँ उपत्यकामा बसोबास गरिहेका बालबालिकाका लागि बालबालिका खोजतलास समन्वय केन्द्र निशुल्क टेलिफोन नं १०४, भृकुटिमण्डपमा हेल्प डेस्क खडा गरी २४ सै घण्टा यस सम्बन्धी सूचना तथा जानकारी प्रदान गर्ने भएको हो ।
त्यसैगरी काठमाडौ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लामा सञ्चालित बाल हेल्पलाइन नेपाल निःशुल्क टेलिफोन नं १०९८ सेवा केन्द्रहरुमा हेल्प डेस्क स्थापना २४ सै घण्टा सञ्चालन गरी सूचना तथा जानकारी प्रदान गर्ने, बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था तथा नेटवर्कहरुको परिचालन गरी महामारीमा बालअधिकार हननका घटनाहरुको अनुगमन तथा आवश्यकता अनुसार सहायता प्रदान गर्नका लागि समन्वय गर्ने बाल अधिकार परिषदले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।