नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

काठमाण्डौ  नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । काठमाण्डौ  महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के. सी. सँग कुरा गरेका थिए ।

‘हामी मिलेर महामारीको सामना गरौँ । तपाईँहरुसँग भौतिक संरचना छ । जनशक्तिको प्रबन्ध छ । यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउँछ ।’ भेटका क्रममा प्रमुख शाक्यले भने , ‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ । यसबाट अस्पतालको चाप घटाउन सकिन्छ ।’

भेटका क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले, एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताएका थिए। उनले भने ,” अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ ।”

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नेछन ।फोटो सौजन्य : काठमाण्डौ अनलाइन

तपाइँको प्रतिक्रिया ।