यात्रुसँग बढी भाडा लिने एक जना नयाँबसपार्कबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने एक जना नयाँबसपार्कबाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गोंगबु  नयाँबसपार्कबाट पक्राउ गरेको छ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कडाईका साथ चेकजाँचमा खटिएको प्रहरीले बढी भाडा लिन खोज्ने स्याङ्जाका ३० वर्षीय मिलन सारुलाई पक्राउ गरेको हो।

मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले बसपार्कबाट सारुलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले, स्याङ्जा चापकोट–७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी सारुलाई पक्राउ गरेको पुष्टी गरेका छन ।

काठमाडौंदेखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि हामीले नियन्त्रणमा लिएको एसएसपी भट्टराईले बताए।

पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका १० जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ।पक्राउ परेका सारुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।

तपाइँको प्रतिक्रिया ।