गोकर्णेश्वर ४ मा कान्ति भैरव जात्रा  संचालन गर्ने सम्बन्धमा सरोकारवालाहरु संग छलफल

गोकर्णेश्वर ४ मा कान्ति भैरव जात्रा  संचालन गर्ने सम्बन्धमा सरोकारवालाहरु संग  छलफल

कपन अनलाइन

काठमाडौं, बैशाख २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशेमा मनाइने कान्ति भैरव जात्रा  संचालन गर्ने सम्बन्धमा आज सरोकारवालाहरु संग छलफल गरिएको छ।  विश्व ब्यापी रुपमा फैलिएको कोरोना र निषेधाज्ञाको अवस्थामा जात्रा कसरि संचालन गर्ने भन्ने बिषयमा स्थनीय संग छलफल गरिएको हो ।गोकर्णेश्वर नगरपालिका वडा नं ४को कार्यलयमा भएको सो छलफलमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल महानगरीय प्रहरी  वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की,गोकर्णेश्वर नगरपालिका वडा नं४ का वडा सदस्य बालकृष्ण श्रेष्ठ,वडा सदस्य उमा थापा, वडा सचिब नवराज सेन, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानकुमार कट्टेल, स्थानीय गुठियार सहित स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए ।

प्रत्येक वर्ष  मातातिर्थ औशिको अघिल्लो दिन बाट शुरु भई अक्षय तृतीयाको दिन सम्म चल्ने उक्त जात्रा गोकर्णको देशे गाउको डुठु लाक्षी टोलमा रहेको भैरब उत्तर बाहिनिमा रहेको आफ्नो आमा कान्ति भैरवीको मुख हेर्न जाने धार्मिक मान्यता अनुसार सो जात्रा मनाउने गरिन्छ। भातको देउता बनाएर फलफुल मिठाइ सहित बिभिन्न परिकारको साथमा भैरबको रथमा राखेर् देशे गाउको डुठुलाक्षी बाट बाजागाजा सहित उत्तर बाहिनीमा रहेको कान्ति भैरवको मन्दिरमा बिहानै पुर्याउने चलन रहेको र त्यसपछि जात्रा सुरु हुने गर्दछ ।

उक्त दिन बिहान रथलाइ कान्ति भैरबमा पुर्याएर केहि बेर उत्तर बाहिनि मन्दिर परिसरमा राखे पछि स्थानीयले बलि सहित पुजा गरेपछि पुन: बाजा गाजा सहित सिन्दुर जात्र गर्दै उक्त भैरबको रथलाई स्थानीय क्षेत्रमा परिक्रमा गरिने  स्थानीय बताउछन । रथलाई सलाखीटार, भैरब चौर, तालिन्चोक परिक्रमा गर्दै पुन:डुठु लाक्षी पुर्याएर जात्रासम्पन्न हुने गर्दछ ।गत वर्ष समेत कोरोना भाइरस महामारीको कारण बिधि पुजा मात्र गरिएको उक्त जात्रा एस पटक पनि रोकिएमा अर्को वर्ष समेत जात्रा संचालन गर्न नहुने हुँदा यस पटक आवश्यक स्वास्थ्य  सुरक्षा  बिधि अपनाएर संचालन गर्नु पर्नेमा स्थानीयले सुझाब दिएका थिए।

कार्यक्रममा महानगरीय प्रहरी  वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले विश्व ब्यापी रुपमा फैलिएको महामारीको बिचमा जात्रा संचालन गर्दा जोखिम बढ्ने बताए। उनले अहिले   बिधि  पुजामा सिमित राखी   पछि क्षमा पुजा गर्नुपर्नेमा जोड दिएका थिए ।जात्रा भनेपछि मानिसहरु मदिरापान गर्ने गर्छन त्यस पछि लापरबाही बढ्ने हुँदा  सामाजिक भौतिक दुरी कायम गर्न गराउन समेत सहज नहुने तर्क राखेका थिए।

कार्यक्रममा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले  सर्वत्र कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले परम्परा कायम गर्ने नाममा समुदायमा कोरोनाभाइरस पस्यो भने नियन्त्रण गर्न गाह्रो हुने । जात्रा वा पर्वको नाममा भिड गरेर सामूहिक रूपमा भोजभतेर गर्नु ठिक हुँदैन।” केही मानिसहरूले हामीले राम्रोसँग पूजाआजा गरेनौँ भने नराम्रो हुनसक्छ भन्ने आशङ्का गर्छन्। तर मलाई लाग्छ हामी जीवित रह्यौँ भने मात्रै हामीले हाम्रा चाडपर्व र जात्राहरू भविष्यका सन्ततिका लागि जोगाइदिन सक्छौँ।” उनले भने अहिलेको समाजमा मानिसहरू धेरै शिक्षित भएर चेतना पनि उच्च भएको कारणले गर्दा एकदम न्यूनतम मानिसहरू सहभागी भएर  बिधि पुजा सहित जात्रा संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।समाजिक दूरी कायम गर्न र स्वयम् अनुशासनमा बस्न  समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा नगर उप प्रमुख शान्ती नेपाल, नगर प्रमुख सन्तोष चालिसे लगायतले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको जात्रा सामान्य  ढंगले संचालन गर्न अनुरोध गरेका थिए। सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउँदै सन्तुलित ढंगबाट नजिकिँदै गरेको जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताएका थिए ।जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक  गतिबिधि गर्न भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका  कार्य गर्नको लागि समिति निर्माण गर्ने  पनि र सोहि समितिले थप निर्णय गर्ने  जानकारी गराइएको थियो  । यस पटकको जात्रा बैशाख २७ गते देखि बैशाख ३१ गते सम्म संचालन हुनेछ।

तपाइँको प्रतिक्रिया ।