दाङको स्याउली बजारमा कार भित्र मृत भेटिएका तिन बालकको पहिचान खुल्यो

दाङको स्याउली बजारमा कार भित्र मृत भेटिएका तिन बालकको पहिचान खुल्यो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

दाङ तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीन बालकको पहिचान भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशान  कारभित्र  लक लागेको अवस्थामा शव फेला परेका थियो । शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि गाडी मालिक  र चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।