गोकर्णको गदाधर नारायण तथा पार्वती मन्दिरमा गजुर पुन:स्थापना गरियो
कपन अनलाइन
काठमाडौं बैशाख १० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर पुन:स्थापना भएको छ।
श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिको आयोजनामा बैशाख ९ गते बिहिबार गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा बिशेष पुजा सहित गजुर पुन:स्थापना गरिएको हो।
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेलगोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिका पदाधिकारी गोकर्णेश्वर महादेव मन्दिरका मूल भट्ट पुजारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिका संयोजक कोमल बहादुर बिष्टले गरेका थिए भने गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिका सचिब इश्वर पाण्डेले कार्यक्रम संचालन गरेका थिए ।
पहिला नै उक्त मन्दिरको छाना निर्माण भए पनि शुक्र अस्त भएको कारण साइत जुराएर बिशेष पुजा सहित गजुर पुन:स्थापना गरिएको हो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।२०७२ सालको भुकम्प पश्चातदुवै मन्दिरको झिंगटीका छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरु भएको जानकारी दिदै सो कार्यमा नगरपालिकाको समेत सहयोग रहेको बताएका थिए। उनले गोकर्णेश्वर नगरपालिकाको नामकरण समेत सोहि मन्दिरको नाम बाट भएको जानकरी गराउदै नगरको सम्पदा भएको हुँदा त्यसको संरक्षणमा सबै जना लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले खुसि ब्यक्त गर्दै लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको स्वरुप फेरिएको बताए। उनले गोकर्णेश्वरलाइ धार्मिक पर्यटन परिपथ निर्माणको लागि काम अघि बढाइएको बताउदै पशुपति नाथ देखि गोकर्णेश्वर हुदै बागद्वारलाइ समेत समेटर सो परिपथ निर्माण गर्न लागिपरेको बताए।
हाल बिभिन्न संरचना निर्माण भईरहेको बताउदै बागमती गङ्गा आरति, डिजिटल डिस्प्ले बोर्ड जडान देखि गोकर्णेश्वर महादेव मन्दिरमा नित्य पुजा बिधिको लागि अक्षयकोष स्थापना गरिएको बताए । उनले हाल सम्म गोकर्णेश्वर महादेव मन्दिरमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका समेत रहेको छ ,जसलाई महत्वका साथ पुजिन्छ । हरेक वर्ष कुशे औसीमा त्यहा ठुलो मेला लाग्दै आएको छ।