विद्यालय बन्द नगर्न प्यावसनको आग्रह
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २९।
कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) ले बिद्यालय बन्द नगर्न आग्रह गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरेको थियो । त्यहि सिफारिस भएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने तर बिद्यालय बन्द गर्न नपाइने जनाएको छ ।
प्याब्सनले आइतबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानीसम्बन्धी उपायलाई हरेक क्षेत्रमा कडाइका साथ लागु गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छ भनिएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा “कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग सङ्घर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्नु जरुरी रहेको उल्लेख गरिएको छ ।