एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १३।

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औं र महिलाको ३० औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् ।
अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।
सन्जु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । सागको कुनैपनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् ।
प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइँको प्रतिक्रिया ।