तेर्से मावि मेलम्ची -६ मा मनोपरामर्श कक्ष स्थापना

तेर्से मावि मेलम्ची -६ मा मनोपरामर्श कक्ष स्थापना

कपन अनलाइन

काठमाडौं ,फागुन १९/सुशील सुवेदी

नेपालमै सामुदायिक विद्यालयमा पहिलो पटक मनोपरामर्श कक्ष तेर्से माविमा स्थापना मनोपरामर्श प्रदान गर्दै आएको सम्भाव्य फाउण्डेसनले तेर्से माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरेको छ ।

फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं  ६को तेर्से माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष सञ्चालनमा ल्याएको हो ।

सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै यो पहिलो पटक हो । सो कक्षको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बालबालिकामा भएको समस्या पहिचान गरि समाधान गर्न अब मनोपरामर्श कक्षले सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

नगर प्रमुख अर्यालले भूकम्प,विभिन्न खाले भाइरस जस्ता प्रकोपले गर्दा बालबालिकामा मानशिक तनाब हुने गरेको भन्दै उक्त समस्या न्युनिकरण गर्न कक्ष स्थापनामा सहयोग गरेको भन्दै सम्भाब्य फाउण्डेशन लाई धन्यवाद दिएका थिए  ।

मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका कार्यकारी निर्देशक आषिश श्रेष्ठले जानकारी दिएका छन  ।

यसै अभियान अन्तर्गत नै उक्त फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक, काठमाडौं र बाग्लुङका विभिन्न १३ वटा विद्यालयहरुमा  दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको बताउदै  फाउण्डेसनकी  परामर्शदाता अन्जु पुरीले  किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको बताएकी छन ।

(सुशील सुवेदी  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।