स्व.गजेन्द्र कुमार लामा (आले मामा) को स्मृतिमा फुटबल प्रतियोगिता हुने
कपन अनलाइन
काठमाडौँ, फागुन १७ । समाजसेवी तथा नेपाली कांग्रेसका महासमिति सदस्य स्वर्गीय गजेन्द्र कुमार लामा (आले मामा) को स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेस बौद्ध इकाई समितिलेचैत्र १३ गते स्व. गजेन्द्र लामा (आले मामा)को बार्षिक पुण्य तिथि पारेर सो प्रतियोगिता गर्न लागिएको हो । आले मामा को नामले सुपरिचित लामा लामो समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका थिए।
लुम्बिनी बिकास कोषका पुर्ब उपाध्यक्ष,बौद्धनाथ क्षेत्र बिकास समितिको पुर्ब अध्यक्ष रहेका लामाले काठमाडौंको उत्तरी क्षेत्रको महत्वपूर्ण महेन्द्र बौद्ध मावीको अध्यक्षका रुपमा पनि सेवा गरेका थिए।नेपाली कांग्रेस काठमाण्डौ ३ बाट निर्वाचित महासमिति सदस्य रहेका लामा नेपाल अपाङ्ग संघका पुर्व अध्यक्ष, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका पुर्व अध्यक्ष, चक्र फाउण्डेसनका अध्यक्षका रुपमा पनि सामाजिक र राजनीतिक योगदान पुर्याएका थिए।अनवरत रुपमा विभिन्न अभियानमा सक्रिय रहेका लामा लायन्स क्लव अफ काठमाडौं जोरपाटीमा पनि आवद्ध रहेका थिए।लामाको उपचारका क्रममा भारतको दिल्लीमा २०७६ साल चैत १३ गते निधन भएको थियो ।
शनिबार नेपाली कांग्रेस बौद्ध इकाई समितिले फुटबल प्रतियोगिताको सम्वन्धमा काठमाडौं क्षेत्र नं. ३ तथा क्षेत्रका इकाई सभापतिहरुसँगसो प्रतियोगिताको बारेमा छलफल गरिएको थियो ।सो छलफलमा नेपाली कांग्रेस बौद्ध इकाई सभापति भुवन लामाले समाजसेवी तथा महासमिति सदस्य स्वर्गीय गजेन्द्र कुमार लामा (आले मामा) ले सामाजिक विकास तथा काठमाडौं क्षेत्र नं. ३ मा पुर्याएको राजनीतिक योगदानको कदर गर्दै फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएका थिए । उनले सो क्षेत्रका जनताको मन मष्तिष्कमा रहन सफल अग्रज राजनीतिक व्यक्तित्व आले मामा प्रति सम्मान गर्दै क्षेत्र नं. ३ का नेपाली कांग्रेसका क्रियाशिलहरुको वीचमा सद्भाव बढाउने उदेश्यका साथ उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका थिए ।