खेल पत्रकार सम्मानित
कपन अनलाइन
काठमाडौं ,फागुन १७।
युवा तथा खेलकुद मन्त्रालयले ९ जना पत्रकारलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका हुन् । मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार खेलकुद पत्रकारिता पुरस्कारबाट कमल खत्री सम्मानित भए । नागरिक दैनिक पश्चिेमी संस्करणमा रहेका कमलले नगद ५० हजार प्राप्त गरेका छन् । यसैगरी महिला तर्फ राष्ट्रिय समाचार समितिमा कार्यरत मुना कार्की सम्मानित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् । यसैगरी प्रदेश एक बाट हाम्रो खेलकुद डटकमका हिमालचन्द्र खरेल, प्रदेश २ बाट साप्ताहिक पत्रिका खेलकुदका रञ्जनकुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुरका माधव अर्याल, लुम्बिनी प्रदेशबाट नेप्लेज डटकमका मुक्तिबाबु रेग्मी, कर्णली प्रदेशबाट बाह्रखरीका भुपेस उपाध्याय र सुदूरपश्चिमबाट खबरकुञ्जका सिताराम ओझा सम्मानित भएका हुन् । प्रदेशबाट सम्मानित हुनेहरुले पनि नगद २५ हजार प्राप्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपानेले यो सम्मानको कार्यक्रम मन्त्रालयको नियमति कार्यक्रम भएको बताउँदै आगामी दिनमा यसको दायरा अझै बढाउँदै लैजाने बताए । उनले खेलकुदको माध्यमबाट विश्वस्तरमा नेपालको नाम चिनाउने सजिलो हुने भएकाले सरकारले पनि खेल क्षेत्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए । साथै खेल पत्रकारहरुके बृत्ति बिकासमा मन्त्रालय नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर काम गर्न तयार रहेको बताए ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले खेल पत्रकारहरुको सम्मानका लागि मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै यसलाई अझै फराकिलो बनाउनका लागि आफूहरु काम गर्न तयार रहेको बताए ।
युवा तथा खेलकुदमन्त्री दावा तामाङले मन्त्रालय सधैव खेलकूदको विकासका लागि पर्ने बताउँदै पत्रकारहरुसँग समन्व्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खेलकुद पत्रकार पुरस्कारका लागि मन्त्रालयले दुई महिना अघि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयमा आएका दरखास्तहरुलाई पुरस्कार छनोट समितिले छनोट गरि मन्त्रालयलाई बुझाएको थियो र सोही पुरस्कार आइतबार वितरण गरिएको हो । पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघ, खेलकुद पत्रकार मञ्च, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रेस कान्सिल नेपालका प्रतिनिधि सदस्य थिए ।