दगुरौँ कता तिर ? त्रिलोचनआचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,फागुन १५ ।
पानी विनाकै पनि जिन्दगी छ कि ?
हावा विनाकै छ कि सिर्जना हकि?
जानेर लागे छ खुला जतातिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।१।।
स्रस्टा कहाँ छन् ? रचना हजार छन्
छ काल कस्तो ?उसकै बजार झन्
खोजे सयौँ छन् पहिरो तथा भिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।२।।
जानेर आएँ कसले भन्यो यहाँ?
र जानु पर्ने अब हो कता कहाँ?
छन् प्रश्न यस्ता बहुतै यतातिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।३।।
नातायहाँ खै कसको अकाट्य छ ?
र सुख्खभन्ने कसको दिगन्त छ ?
सम्झे यहाँ छन् दुविधा जतातिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।४।।
यो घाम भन्दा पर घाम नै छ कि ?
यो याम जस्तै पर याम डुल्छ कि ?
जाने सयौँ छन् सुख यै लतातिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।५।।
गन्तव्य पुग्ने पथ यै त हैन र ?
कर्तव्य गर्ने रथ यैँ छ छैन र ?
दोधारमा छन् व्यवहार आखिर
म कल्पनामा दगुरौँ कता तिर ? ।।६।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक