राजनितिक विकृतिमाथि कडा प्रहार गर्ने “दल र देश” गीतको भिडियो सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,फागुन १४।

यतिबेला देश राजनितिक भुमरीमा फसेको छ । राजनितिक किचलो र भागबण्डाकै कारण देशका अर्थतन्त्रदेखि हरेक क्षेत्रहरु पनि प्रभावित बन्दैछन् । यस्तै विषयमा केन्द्रित “दल र देश” गीतको भिडियो सार्वजनिक भएको छ । राजा खतिवडाको शब्द तथा संगीत रहेको गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । राजा खतिवडा र लक्ष्मी नारायण सुनुवारको स्वर रहेको गीतको भिडियोमा भने राजा र लक्ष्मीको साथै सृजना घिमिरे, समृद्धि सिलवाल, नारायण घिमिरे, मोहन श्रेष्ठ, नरेन भट्टराई, सुवास सिलवाल, मान बहादुर थापा, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोको छायांकन नारायण जि.सी. ले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन् । सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा एउटा विद्यालयमा हुने चरम राजनितिकरणलाई प्रस्तुत गरिएको छ । शिक्षहरु नै पढाउन छोडेर दलको झण्डा बोक्दै हिँड्ने तथा विद्यार्थीहरुलाई पनि जबरजस्ती दलको झण्डा बोकाउने प्रवृत्तिमामाथि कडा प्रहार गरिएको छ । एउटा मार्मिक दृश्यबाट कथावस्तु सुरु भएर सन्देशमुलक तथा राष्ट्रियताको भावनामा अन्त्य गरिएको छ ।

द्वन्द्वकालमा आफ्नो श्रीमान् गुमाएपछि छोराछोरीले गर्ने प्रश्नको उत्तर दिन नाजवाफ बनेकी आमाको रोदनात्क दृश्यबाट कथा सुरु हुन्छ । विद्यालय जाँदै गर्दा राजनितिक दलको आन्दोलन तथा खिचातानीले १ महिनासम्म विद्यालय बन्दहुँदा राजनितिले विद्यार्थीहरुमा पारेका प्रभावलाई देखाउन खोजिएको छ । विद्यार्थी र शिक्षकको प्रश्नोत्तर शैलीमा गीत सुरु हुन्छ । एकएक गरी विद्यार्थीहरु उठेर शिक्षकलाई प्रश्न गर्न थाल्छन् र शिक्षकले उत्तर दिने प्रयास गर्छन् ।

राजनितिक कार्यकर्ताहरु विद्यालयमा छिरेर विद्यार्थीहरुलाई राजनितिक कार्यक्रममा लैजाने, विद्यार्थी संगठन विस्तारको नाममा राजनिति नबुझेका विद्यार्थीहरुलाई जबरजस्ती संगठन बनाउनदेखि शिक्षक कोठामा तालाबन्दी गर्ने तथा आन्दोलनमा उक्साउनेजस्ता कार्यहरु गर्न थाल्छन् । अन्तीममा विद्यार्थीहरुले नै राजनितिक पार्टीहरुको झण्डा हटाएर विद्यालयमा राजनिति बन्द गरौँ जस्ता विभिन्न पम्पलेटहरु टाल्छन् र विद्यालयलाई राजनितिमुक्त बनाउने प्रयास गर्छन् ।

राजनितिले बच्चाहरुको मनोविज्ञानमा पारेको प्रभावलाई स्पष्ट रुपमा उतार्ने प्रयास गरिएको छ । विद्यार्थीहरुले फालेका झण्डा, उप्काएका पोष्टर पम्पलेटहरु तथा फोहोरहरु विद्यालयका कार्यालय सहयोगीले संकलन गरेर जलाइएका दृश्यहरुले गीतलाई विवादास्पद बनाउने देखिएतापनि गीतले राष्ट्रियताको पक्षमा बोलेको छ । बजारमा आईरहेका अन्य गीतभन्दा फरक स्वाद रहेको गीतलाई दर्शकले कतिको रुचाउँछन् केहि समय प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया ।