म संसद पूनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु : कोषाध्यक्ष पोखरेल

कपन अनलाइन
काठमाडौं, फागुन १०।

नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिले अदालतसामू ठूलो चूनौति रहेको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको उनको भनाई छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो विषयलाई लिएर सर्वोच्च अदालतमाथि एक किसिमको हमला गरिएको अवस्था छ । यो भन्दा पहिला, विभिन्न कोणबाट अदालतमाथि बोलियो ।

अदालतलाई थ्रेट गर्ने काम भयो । मैले गरेको विघटन सही छ भनिएको पनि सुनियो । दुवै तर्फबाट आएका अभिव्यक्ति न्यायपालिकामाथि उचित ढंगका अभिव्यक्ति होईन । न्यायालयले स्वतन्त्र निर्णय गर्छ भन्ने विश्वास छ । संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला आउँदैन् भन्ने कुरामा पनि म विश्वास गर्छु । अहिलेको जुन वातावरण छ, संवैधानिक व्यवस्था छ, यो हेर्दाखेरि म संसद पूनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सर्वोच्च अदालतबाट आउने र हुने फैसलालाई आफूले शिरोपर गर्ने कुरामा आफू विश्वस्त रहेको पनि जनाए । उनले एमिकस क्युरीले व्यक्त गरेको राय हुबहु लागु नहुने पनि सुनाए ।
उनले प्रधानमन्त्री ओलीले हिजो गरेको भाषण आफ्नो पक्षको पक्षपोषणमात्रै भएको पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले व्यक्त गरेका कुरा आफ्नो पक्षको कुरा रहेको पनि उनले सुनाए ।

तपाइँको प्रतिक्रिया ।