नागरिक आन्दोलनको टुँडिखेल मार्च
कपन अनलाइन
काठमाडौं फागुन ७।बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।नागरिक आन्दोलनले आज फाल्गुन ७ गते टुँडिखेल घेरा हाली घोषणापत्र जारी गर्ने भनेपनि प्रहरीहरूले टुँडिखेल क्षेत्रमाथि कडा नियन्त्रण अपनाई कसैलाई छिर्न नदिएपछि उक्त कार्यक्रम महांकाल मन्दिर नजिकै गरिएको छ ।मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए ।
उक्त घोषणापत्रलाई ‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिएको छ। नागरिक आन्दोलनले बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गरी टुँडिखेल मार्चपास गरेको हो। रत्नपार्क, भद्रकाली, सहिदगेट भएर पश्चिम गेट हुँदै टुँडिखेल प्रवेश गर्न लाग्दा प्रहरीले आन्दोलनकारीहरूलाई रोकेको छ। इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने दाबी गरेको नागरिक आन्दोलनले टुँडिखेलमाथि आम नागरिकको स्वामित्व भएकाले प्रजातन्त्र दिवसको अवसर पारेर उक्त स्थानमा कार्यक्रम गर्न लागेको बताए पनि सरकारको आदेशमा प्रहरीले सो क्षेत्रमा प्रवेश निषेध गरेको हो।हाल महांकाल मन्दिर क्षेत्रमा कविता वाचन र मन्तव्यका साथ घोषणापत्र जारी गर्ने तयारी नागरिक आन्दोलनले गरेको छ।
फोटो : सरोज बस्नेत