पन्चेश्वर मन्दिर बुढानिलकण्ठमा आज महिलाहरुको पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुने
कपन अनलाइन
काठमाडौँ, माघ २८ ।बूढानीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको कार्यालय र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन र मेडीसिटी हस्पिटलको सह-आयोजनामा एकदिने “महिलाको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण” शिविर आज सञ्चालन हुने भएको छ। महिलाहरुमा हुने विभिन्न किसिमका पाठेघर सम्बन्धि विभिन्न रोगहरुको प्रारम्भिक परिक्षण तथा पाठेघर क्यान्सरका बारेमा महिलाहरुमध्येमा चेतना तथा जानकारी उक्त शिविर मार्फत प्रदान गरिने छ।
उपचार विधि जटिल र महँगो हुने क्यान्सर रोगका कारण हरेक वर्ष सयौं महिलाहरुले पठेघर सम्बन्धी रोग तथा क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्। सोहि क्रममा महिलाहरुको पाठघर स्वस्थ राख्नका लागि चेतनाका साथै महिलाहरुलाई यस विषयमा महत्वपूर्ण जानकारीहरु प्रदान गर्नका लागि सो शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आज बुधबार बूढानीलकण्ठ नगरपालिका वडा नं ३ पञ्चेश्वर प्राङ्गणमा बिहान १०:३० देखि २:३० सम्म सञ्चालन हुनेछ। उक्त शिविर कार्यक्रमका संयोजक गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी जागृत क्लब रहेका समाजसेवी बालमाया श्रेष्ठले जानकारी गराइन ।
पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको चिकित्सकहरुले बताउदै आएको उनले बताइन । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ । क्यान्सर निको हुन्छ सुरुमैं उपचार गरेमा भन्ने उद्घोषका साथ शिविरलाई सब्य र भब्य रूपमा सम्पन्न गर्न सहयोग गर्न पनि उनले अनुरोध गरेकी छिन ।