देशभर नेपाली कांग्रेसको शक्ति प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, मंगसिर ३०। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध काठमाडौंमा समेत प्रदर्शन गरेको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन पहिले तनहूँमा भएको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी लापरबाही बढ्दै गएको भन्दै देशभर कांग्रेसले शक्ति प्रदर्शन गरेको हो।
काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो। कांग्रेसका पार्टीका केन्द्रीय नेताहरुलाई सम्बोधनका लागि देशभर खटाएको थियो। सभापति देउवाले मकवानपुर, वरिष्ठ नेता पौडेलले काठमाडौँ, विमलेन्द्र निधिले भक्तपुर तथा प्रकाशमान सिंहले धनुषामा सम्बोधन गरेका थिए भने युवा नेता एवं केन्द्रीय सदस्य गगन थापाले धनगढीमा कांग्रेसले आयोजना गरेको विरोध सभामा सम्बोधन गरेका थिए ।
देशभर भएको विरोध प्रदर्शनमा बोल्दै कांग्रेसका नेताहरुले अहिलेको दुई तिहाइको सरकार भ्रस्टाचारमा लिप्त रहेको, कोरोना भाइरसको सतर्कता नअपनाएको र पार्टीका बरिष्ठ नेताहरु माथिको हिंसासहित अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका थिए । काठमाडौंको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रस्टाचारी संगै अधिनायकबादी तर्फ उन्मुख भएको आरोप लगाएका थिए।