काठमाडौं महानगरपालिकाका “विद्रोही वडा अध्यक्ष ” राजेन्द्र श्रेष्ठ
कपन अनलाइन
काठमाडौं ,मंसिर २३।
काठमाडौं महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ सामाजिक संजालमा निकै सक्रिय जनप्रतिनिधि हुन्।आफ्नो वडामा भएका सकारात्मक ,रचनात्मक र विकासका विषयहरुलाई सामाजिक संजाल मार्फत नियमित जानकारी दिने श्रेष्ठ नकारात्मक र गलत कुराहरुको पनि खुल्ला रुपमा भण्डाफोर गरिरहेका हुन्छन।
उनको सामाजिक संजाल हेर्ने हो भने उनले आफै कार्यपालिका सदस्य रहेको काठमाडौं महानगरपालिकाका विरुद्ध धेरै पटक प्रश्न उठाएका छन भने वडावासीहरुलाई पनि गलत काम नगर्न चेतावनी पनि प्रसस्तै भेटिन्छन।
काठमाडौं महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा रहेको वडा नं २ का अध्यक्ष श्रेष्ठ सत्य र सहि कुरालाई निर्धक्क राख्न सक्नुपर्ने बताउछन। एउटा जनप्रतिनिधि खुल्ला र स्पस्टवक्ता हुनुपर्ने धारणा राख्ने श्रेष्ठलाई तपाइलाई त “विद्रोही वडा अध्यक्ष ” भन्छन नि भन्ने प्रश्नमा उनले गलत विषयको सार्वजनिक रुपमा खण्डन गर्ने संस्कारको विकास गर्न लेखेको बताएका छन।
आफु जनताको मत बाट निर्वाचित जनप्रतिनिधि संगै आफु देशको एक जिम्मेवार नागरिक पनि रहेकोले सबैलाई सजग बनाउन खवरदारी गर्न सामाजिक संजाल मार्फत आवाज उठाएको बताउने श्रेष्ठ कहिले काही आफ्नो सामाजिक संजालमा राखेका सामाग्रीका कारण विवादित पनि बन्ने गरेका छन।
पटक पटक वडा नं २ लाई हिलो र धुलो मुक्त बनाउदै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउदै आएका वडा अध्यक्ष श्रेष्ठले आफै आवद्ध रहेको नेपाल कम्युनिस्ट पार्टीको पनि चर्को आलोचना गर्दै आएका छन। आफु पार्टीको अशल कार्यकर्ता बन्न चाहेको र कसैको पनि प्रिय र अप्रिय बन्न नचाहेको बताउने उनले यी सबै विषयको मुल्यांकन वडावासीले गर्ने धारणा राखेका छन