चार नारायण मध्ये कान्छा इचंगु नारायण

कपन अनलाइन

काठमाडौं,मंगसिर १०। काठमाडौ उपत्यकामा रहेका ४ प्रमुख नारायणहरु मध्ये एक मानिने  इचंगु नारायण मन्दिर नागार्जुन नगरपालिका वडा नं ३ मा पर्दछ।हरेक वर्ष ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी तथा हरिशयन एकादशीका बेला यहाँ बाक्लो भिड लाग्ने गर्दछ भने हरिबोधनी बेलामा ४ नारायणको यात्रा गर्ने परम्परा रहि आएको छ। चाँगु नारायण , विशंखु नारायण , शेष नारायण र इचंगु नारायण गरि ४ नारायणलाई उपत्यकाको प्रमुख नारायणहरु मानिन्छन्।

हरिदत्त वर्माले उपत्यकाका चारै दिशामा चार नारायण स्थापना गराएको मानिन्छ, जसमा उत्तरतर्फका नारायण इचंगु नारायण एक हो  । इचंगु नारायणलाई कान्छो नारायण भनिन्छ भने क्रमश चागु नारायणलाई जेठो, विशंखु नारायणलाई माइलो र शेष नारायणलाई साइलो मानिन्छ । यस मन्दिरमा विशेष गरेर अन्य भक्तजन सन्तान प्राप्तीको इच्छाले आउने गरेको भएता पनि भगवान नारायणलाई भक्तिभावले पूजा अर्चना गरेमा तेज बढने, आर्कषण बढने धार्मिक मान्यता रहेको मानिन्छ ।

मन्दिर कहिले बनेको हो भन्ने यकिन नभए पनि सो  स्थानमा ६ औं शताब्दीमा नै नारायणको स्थापना गरेको मानिन्छ । ६०० वर्ष पूरानो मानिने यस मन्दिरलाई २०१५ सालमा जीणोद्धार गरिएको बताइएको छ । यसमन्दिरको नामबाट नै यस ठाँउको नाम रहन गएको मानिन्छ । इचंगु नारायणलाई उपत्यकाको पश्चिम दिशाको रक्षक रुपमा पनि मानिन्छ । दुइतल्ले शैलिमा बनेको उक्त मन्दिर सुन्दर देख्न सकिन्छ ।हरेक वर्ष ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी तथा हरिशयन एकादशीमा ठुलो मेला लाग्ने भए पनि यस वर्ष कोरोना महामारीका कारण मेला नहुने नगरपालिका उप प्रमुख शुशिला अधिकारीले जानकारी गराइन  ।

तपाइँको प्रतिक्रिया ।