जिरी ओपन चेसको उपाधि बद्रीलाल नेपालीलाई

कपन अनलाइन
जिरी,मंसिर ६  ।
तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जिरीमा सम्पन्न जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि हात पारेका छन् । युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जन माथि जित हात पार्दैै बद्रीलालले उपाधि प्राप्त गरेका हुन् । यस अघि उनले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुयाँल सँग बराबरीको नतिजा निकालेका थिए । ७ खेलमा ६ मा जीत तथा १ बराबरी गरी कुल ६ दशमलब ५ अंक बनाएका बद्रीलालले उपाधि सँगै नगद १० हजार नगद हात पारे ।
छैटौं चरणको खेलमा दोलखाका राजीव कार्की माथि सहज जित निकालेका आशिष फुँयाल ७ खेलबाट ६ अंकका साथ प्रतियोगितामा दोश्रो हुन सफल भए । समान ६ अंकबनाएका स्याङ्जाका युवराज पौडेललाई हेड टु हेडमा पछि पारेका फुँयालले नगद ५ हजार प्राप्त गरे । त्यसैगरी तेश्रो स्थानमा रहन सफल युवराजले ३ हजार नगद प्राप्त गरे ।
आयोजक संस्थाका संयोजक समेत रहेका केन्द्र ज्योति खड्का ७ खेलबाट ४ दशमलब ५ अंकका साथ स्थानीयतर्फ प्रथम हुँदै ५ हजार प्राप्त गरे । त्यसैगरी ग्यालजेन शेर्पा र धर्मानन्द दाहाल समान चार—चार अंकका साथ स्थानीय तर्फ दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए ।
ललितपुरका हेराकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरे । त्यस्तै रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन भेट्रानतर्फ दोश्रो तथा तेश्रो हुन सफल भए । उता अनरेटेड तर्फ दोलखाका बिबेक कार्की ढली प्रथम भए । महिलातर्फ दोलखाका उषा जिरेल तथा करुना जिरेल पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए ।
फिडेको स्विस लिग प्रणाली अन्तर्गत  ७ चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागीता रहेको थियो । कोभिड—१९ को महामारी पछि नेपालमा पहिलो पटक आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्तरास्ट्रिय   प्रतियोगिता गर्नका लागि बाटो खुलेको जिरी नगरपालिकाका मेयर तथाप्रमुखअतिथि टंक बहादुर जिरेलले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।