सय गन्तब्यमा सुचिकृत पर्यटकीय आकर्षणको केन्द्र दहचोकको “इन्द्र दह”
कपन अनलाइन
काठमाडौँ,मंगसिर ४। काठमाडौको कलङ्की बाट करिब ५ किमि दूरीमा उत्तर–पश्चिम क्षेत्रमा अवस्थित “दहचोक” प्राकृतिक सौन्दर्यले भरिपुर्ण अत्यन्त मनोरम रमणीय र आकर्षक स्थल हो । चन्द्रागिरी नगरपालिका वडा नं १ मा पर्ने सो स्थानबाट काठमाडौँ उपत्यका एकसाथ देखिनुको साथै सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका थुप्रै स्थानहरु रहेका छन्।
।दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, दुई ओडार निर्माणाधीन भ्यु टावर लगायतका पर्यटकीय स्थल त्यहाँको प्रमुख आकर्षणका केन्द्र हुन् । प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन दहचोकस्थित इन्द्रदहमा इन्द्रदह स्नान मेला लाग्छ, मेला भर्न टाढाटाढाबाट हजारौं श्रद्धालु भक्तजन आउने गर्छन् ।सय गन्तब्यको सुचिमा समेत सुचिकृत उक्त स्थानको पूर्वाधार विकासको लागि धेरै कामहरु भई रहेका छन।
प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक रुपमा समृद्ध भएर पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा दहचोकको पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेका छन् । त्यसैलाइ मध्य नजर गर्दै अहिले सो स्थानमा धेरै पूर्वाधार निर्माणको साथै पर्यटन प्रवर्धनका निम्ति प्रत्येक वर्ष इन्द्र दह महोत्सब हुदै आएको वडा अध्यक्ष राजेन्द्र केसीले कपन अनलाइन लाइ बताए।
नेपाल एकीकरणका क्रममा वीरयोद्धा काजी कालु पाण्डेको समाधीस्थल दहचोकमा नै रहनुले त्यहॉको गरिमा थप उचो बनेको सुनाए , पृथ्वी नारायण शाहले काठमाडौँ विजय गर्न त्यही ठाउँलाई आफ्नो पहिलो रोजाइस्थलका रुपमा प्रयोग गरेका थिए । जसको प्रत्यक्ष प्रमाणका रुपमा ठाउँ ठाउँमा गढीहरु देख्न सकिने उनले जानकारी गराएका छन।
दहचोकको अर्को महत्वपूर्ण पक्ष मनकामना मन्दिर हो जसलाई पृथ्वीनारायण शाहले उपत्यका विजयका लागि शक्ति प्राप्त गर्न गोरखा जिल्लाको मनकामना माईको प्रतिमा मूर्ति बनाई मन्दिर निर्माण गरेका थिए । उक्त मन्दिरमा रहेको कोत घरको पूजा व्यवस्था पूथ्वीनारायण शाहको पालादेखि नै सुरु भएको हो, जुन आज पनि निरन्तर चल्दै आएको उनले जानकारी दिए । मनकामना मन्दिर मा झैँ दसैँका अवसरमा उक्त मन्दिरमा मगर जातीबाट पूजा हुदै आएको पनि उनले बताए।
दहचोकबाट काठमाडौँ उपत्यका लगायत भक्तपुर, ललितपुर, नुवाकोट र धादिङ जिल्लाका विभिन्न भूभागका साथै गोरखा समेत एकसाथ देख्न सकिन्छ । उत्तरतर्फ देखिने मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन, सूर्योदय र सूर्यास्त अवलोकनका लागि समेत दहचोक उपयुक्त स्थल हो उनले भने । सोहि कारण दृश्यावलोकनको लागि थप सुबिधा होस् भनेर प्रधानमन्त्री केपी शर्मा ओली बाट सो स्थानमा भ्यु टावरको शिलान्यास गरेको र हाल सो निर्माणको क्रममा रहेको वडा अध्यक्ष केसीले जानकारी गराए ।
राजधानीको धुलो, धूवॉ, भीडभाड र कङ्क्रिटमय बन्दै गएको सहरी जीवनबाट एकछिन भएपनि दृश्यावलोकन सहित प्रकृतिको स्वच्छ हावापानी र वातावरणमा रम्ने जो कोहीलाई दहचोक क्षेत्र निकै आकर्षक एवम् रमणीय छ , यस कारण पनि सो स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरु आकर्षित हुने गरेको बताए ।
हाल कोभिड १९ कोरोना महामारीका कारण भ्रमणहरु अवरुद्द भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई एक दिने भ्रमणको लागि चन्द्रागिरी नगरपालिका वडा नं १ मा रहेको दहचोक उपयुक्त गन्तब्य रहेको बताउदै दहचोक, इन्द्र दह भ्रमण गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सहयोग गर्न समेत अनुरोध गरेका छन ।