सिरानीमा नक्सा राखेर : समर अंकित (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
सिरानीमा नक्सा राखेर
सडकको किनारामा निदाइरहे छ एक मानिस
उसलाई हरेक बिहान सबेरै उठ्नु छ
र डुल्नु छ एक फन्को शहर
पत्तालगाउनु छ राष्ट्रियताको रुखमा झुण्डिएको
स्वाधिनताको लास कसको हो
कसले देशका लागि आफ्नै रगतको उपहास ग¥यो
जान्नु छ स्वतन्त्रताको मैदानमा
थुप्रिएको अस्थिरपञ्जर कसको हो
समय भन्दा वेगले दगुरेको बतासले
कसका शरीरबाट क्रान्तिका गन्ध
ल्याएर उसका नाकतिर छोडिदिन्छ ।
कसको चितकार हो
एकाबिहानै कानसम्म आइपुगेको।
को हो न्यायाधीश
निर्दयी मानिसलाई चाणक्य फैसला सुनाएर
दोषिलाई खुलेआम हिँड्न दिने
उसलाई जान्नु छ
कसले गरेका हुन् मुलुक बेच्ने गद्दार सम्झौता
दिउँसै गणतन्त्र को जवानी लुट्ने को हो
उसले च्यापेर बसेको नक्सा कसको हो ।
उसको हातमा नटुट्ने चन्द्र र सुर्य अंकित
त्रिकोण झण्डा के को हो ।
कसले कहाँ बाट ल्याइदियो
र थमाइदियो उसकाहातमा ।
उसलाई जान्नु छ उसले टेकिरहेको जमीन कसको।
उसले कसको स्वामितवमा रहेको श्वास तानिरहेछ
उसलाई थाहा छैन
ऊ जन्मियो कसको लागि
ऊ स्वयं बाँचिरहेछ कसका लागि
तर उसलाई यत्ति थाहा छ
देशका लागि मर्नु पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक