प्यारो छ यो जिन्दगी : अर्जुन दुलाल (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
मान्छे भै कन आज यो जगतमा जन्मेँ यही गर्व हो
आमाको ममता सदा छ मनमा मेरो यही स्वर्ग हो
त्यो माया मनले म गर्दछु सधैँ सत्मार्गमा नै रही
पाएँ जीवन बाँच्न यो जगतमा प्यारो छ यो जिन्दगी ।।१।।
लड्दा नी पथमा छ उठ्न सबले साँचेर त्यो हिम्मत
रोएमा मन यी फकाउनु सधैँ बन्दै अझै कर्मठ
गर्दैकर्म सधैँ छ हिड्न सबले त्यो पौरखीमा रमी
माटोमा पसिना बगाउनु अहो प्यारो छ यो जिन्दगी ।।२।।
माया के मन के र यो समय के सिक्दै अझै डुल्नुछ
छर्दै यो जगमा सुवास र खुसी ती पुष्पझैँ फूल्नुछ
लड्दाको पल त्यो बनिन्छ रचनामा धुर्यातामा बगी
हार्नै हुन्न अहो परिश्रम गरौँ प्यारो छ यो जिन्दगी ।।३।।
मान्छेनै धनहो विपन्न छ र को सम्पन्नता हो मन
बाँच्नै पर्दछ है सबै अब यहाँ मुस्कान साँचिकन
होच्याई नलरौँ विभेद नगरौँ बाँच्नैछ मान्छे बनि
हाँसो पुष्प बनी सजिन्छ मनमा प्यारो छ यो जिन्दगी ।।४।।
मेटिनन् मनका सुवास र खुसी धोका र त्यो हारले
जस्तै भेल पनि तरिन्छ सहजै सत्कर्मीका प्यारले
आमाको ममता र प्रेम छ यहाँ त्यो स्वर्गनै हो यही
पाउँ रम्न सधैँ सधैँ अझ यहाँ प्यारो छ यो जिन्दगी ।।५।।
मान्छे हौँ सबैनै समान जगमा औकात के हो भन?
गर्ने के अब हे लरेर सबले त्यो दम्भ साँचिकन
छोड्नै पर्दछ है मरेर त सबै ती वस्त्र ती सम्पत्ति
बाँचुन्जेल सधैँ मिलौँ जगतमा प्यारो छ यो जिन्दगी ।।६।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक