लिखु कोरिडोरका ४० वडामा कृषि उद्यमशीलताका लागि त्रिपक्षीय समझदारी

कपन अनलाइन
काठमाडौं ,कार्तिक १८।
सप्तकोशी मध्येको एक नदी लिखुको जलाधार क्षेत्रमा रहेका रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका ८ वटा स्थानीय तहका ४० वटा वडाहरुमा सार्वजनिक निजी साझेदारी मोडलमा कृषि उद्यमशीलता कार्यक्रम संचालनका लागि सम्झौता भएको छ।
कार्तिक १७ गते सोमबार राष्ट्रिय युवा परिषद, कृषि विकास कम्पनी प्रा.लि र लिखु एग्रीकल्चर नेपाल प्रा.लि. बीच त्रिपक्षीय समझदारी सम्पन्न भएको हो  ।
सो समझदारी पत्रमा परिषदका तर्फबाट प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, कृषि विकास कम्पनी प्रा लि का तर्फबाट सिईओ अर्जुन भट्ट र लिखु एग्रीकल्चर प्रा लिका तर्फबाट अध्यक्ष लोचन बस्नेतले हस्ताक्षर गरेका छन।
कृषिमा आधुनिकीकरण, व्यवसायिकता र बजार विस्तारका साथै कृषि क्षेत्रमा नेपाली युवालाई आकर्षित व्यापक युवा परिचालनको माध्यमबाट युवालाई उद्यमशील र स्वरोजगार बनाउने उदेस्यले संचालन हुने सो कार्यक्रमको अवधि  ४ (चार) वर्षको हुनेछ।
 सार्वजनिक निजी साझेदारीमा हुने  यस कार्यक्रम  अन्तर्गत कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, गुणस्तर वृद्धिका साथै बजार विस्तारका लागि  कृषिका सबै पक्षहरु समेटिने प्रक्रियागत पक्षमा उत्पादन, भण्डारण, प्रशोधन तथा औधोगिकीकरण गरिने, क्षमता विकासका कार्यक्रम, पर्यावरणीय पक्षको सम्बेदनशिलता, कृषि पर्यटन र कृषि पूर्वाधार विकासका क्षेत्रमा नतिजामुखी कार्यक्रम सञ्चालन गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।