टेकु कालमोचन घाट पुन :निर्माणमा समस्या,२९ रोपनी जग्गामा घुस्यो २ पैसाको व्यक्तिको घर
कपन अनलाइन
काठमाडौं ,कार्तिक १६।
दुई पैसा जग्गा र त्यसमा बनेको २ तले घरमा व्यक्तिले स्वामित्व दावी गरेपछि थापाथली कालमोचन घाट क्षेत्र पुन :निर्माणमा समस्या आएको छ। काठमाडौंको थापाथली पुलको मुखैमा रहेको घरका कारण पुन :निर्माणमा समस्या परेको हो।
सो घाटमा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इटाको पर्खाल माथि काठ इटा र सिमेन्ट प्रयोग गरेर बनाइएको २ तले घरको स्वामित्व आफूसँग भएको दावी गर्दै एक व्यक्तिले लालपूर्जा सहित दावी गरे पछी घाट पुन निर्माणमा समस्या परेको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिएका छन ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको बागमती नदी किनार सुधार परियोजना अन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दावी गरेको संरचनामा पुगेपछि काम रोकिने अवस्थामा आएको उनले बताए ।
समस्याको समाधान खोज्नका लागि आइतबार बिहान वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व बिभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारी र परामर्शदाता सहितले स्थलगत अवलोकन गरेका छन।
त्यस क्रममा कुरा राख्दै वडाध्यक्ष हीरालाल तण्डुकारले थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको बताउदै त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्ने बताए ।
स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको बिषयरहेको बताउदै उनले संरचना हटाउनका लागि वडाबाट गर्नुपर्ने आवश्यक समन्वय र सहयोग गर्ने जानकारी दिएका छन ।
गुठी संस्थानका उप प्रशासनक थपलियाका अनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी रहेको जग्गामा बैरागी र सन्यासी लगायतका अखडा रहेका छन ।
२९ रोपनीमा २ पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपूर्जा लिएर दावी स्वामित्व दावी गरेकोमा मालपोत ऐन दफा २४ बमोजिम दर्ता वदर गरेर गुठीको श्रेस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रुपमा कायम गराउने प्रक्रियामा गएर पुन् निर्माण अगाडी बढाउने बताउदै थपलियाले व्यक्तिमा स्वामित्व कसरी पुग्यो भन्ने खोजी गरिरहेको जानकारी दिएका छन ।
त्यस्तै पुरातत्व अधिकृत मञ्जुसिंह ले जगमा कुँदेका ढुङ्गाको पर्खाल छ त्यसमाथि दचि अपा (मौलिक इटा / स्मारक र सार्वजनिक संरचनामा धेरै प्रयोग हुने) को गारो को माथिल्लो भागमा पलि फोँ (बुट्टेदार इटा) राखिएको जानकारी दिदै निर्माण सामाग्री हेरेर व्यक्तिको घर हो भन्न नसकिने र आवश्यक परे यसलाई उत्खनन गरेर अध्ययन गर्न पनि हामी तयार रहेको बताए ।
थापाथली देखि टेकुदोभानसम्म एशियन विकास बैङ्कको सहयोगमा ३ चरमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्म, दोस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभानसम्म र तेस्रो चरणमा टुकुचादेखि थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण तथा मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउन पूर्वाधार बनाइनेछ ।
परियोजनाको पहिलो चरणमा १२ वटा सम्पदा पुननिर्माणसहितको काम करीब सम्पन्न हुने अवस्थामा पुगेको छ । दोस्रो चरणको काम थालिएको छ । यर चरणमा ११ वटा सम्पदा पुननिर्माण हुनेछन् ।
तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका ४ वटा सम्पदा पुननिर्माण भइरहेका छन् ।पहिलो चरणको काम करीब ३७ करोड रुपैयाँ, दोस्रो चरणको काम करीब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम करीब ३५ करोड रुपैयाँ लागतमा अघि बढेको हो ।फोटो सौजन्य : काठमाडौं अनलाइन