टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रका संक्रमितहरु संग नगरपालिकाको दशैँ

कपन अनलाइन
काठमाडौं ,कार्तिक १५/नविना श्रेष्ठ
टोखा चण्डेश्वरी  आइसोलेसन केन्द्रका संक्रमितहरु संग टोखा नगरपालिकाले दशैँ मनाएको छ। दशैको अन्तिम दिन पुर्णिमामा आइसोलेसनका संक्रमितहरु र स्वास्थ्यकर्मी पत्रकारहरुलाई समेतलाई  शुभकामना आदानप्रदान सहित दशैंको टीका लगाइएको छ।
नेपालीहरुको महान चाड दशैं हिजो अन्तिम दिनमा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा संक्रमित भै आइसोलेसनमा रहेका  ४ जना संक्रमित,३ जना स्वास्थ्यकर्मी ,संचारकर्मी र सुरक्षाकर्मीहरुलाई टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बडा दशैंको शुभकामना दिई टीका जमरा लगाई दक्षिणा दिएर स्वास्थ्य लाभको कामना गरेकी थिइन्।
दशैं जस्तो महान पर्वमा कोभिड-१९ कोरोना भाइरस संक्रमण भै आफ्नो परिवारबाट अलग्गिएर आइसोलेसनमा बस्नु परेको कारणले दुःख महसुस नहोस् भनेर उनिहरुलाई अलिकति भएपनि आत्मियता  महसुस होस्  भनेर यो सानो कार्यक्रम आयोजना गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन्।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाट  १२१ जना संक्रमित मध्ये  हाल सम्म ११८ जनाले कोभिडलाई जितेर घर फर्किसकेको जानकारी दिदै उपप्रमुख डंगोलले  काठमाण्डौ, भक्तपुर, ललितपुर मध्ये पहिलो आइसोलेसन  टोखा नगरपालिका वडा नं २ मा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा  सुरु भएको बताएकी छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्राशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।