टोखा-बुढानिलकण्ठ क्षेत्रमा समर्पित हुँदा डा.थीरमान शाक्य
कपन अनलाइन
काठमाडौं ,कार्तिक १२/कुमार रंजित
डा. थीरमान शाक्यलाई अहिले कसले देख्छन् र चिन्न सक्छन् र ? चिन्नेहरूले पनि पहिलेका डा. थीरमानलाई बिर्सिसकेका होलान्। उहॉलाई चिन्नु हुने मध्येका एक टोखाका स्वास्थ्य सहायक पहलमान श्रेष्ठ पनि अहिले यस संसारमा हुनुहुन्न। र डा. थीरमान पनि अहिले यस संसारमा हुनुहुन्न। नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गतको उच्च शिक्षा प्राप्त गरेका चिकित्सकहरु मध्ये अत्यन्तै लोकप्रिय डाक्टरहरुको सूचीमा रहेका छन् थीरमान शाक्य।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ अन्तर्गत नःघल टोलमा रैथाने नेवार परिवारमा विक्रम सम्बत् १९९४ सालमा जन्मिएका शाक्यले २०१७ सालमा भारतको पटना विश्वविद्यालयबाट बी. एस्सी र विक्रम युनिभर्सिटी मध्य प्रदेशबाट ६ वर्षको अध्ययनपछि ०२३ सालमा एम. बी. बी. एस. पूरा गरी जन्मभूमिको सेवाका लागि फर्कनुभएको थियो। त्यसताका नेपालमा उच्च शिक्षा प्राप्त गरेका युवाहरुको कमी थियो ।
त्यसमाथि चिकित्सकीय क्षेत्रमा त झनै कम विज्ञ थिए । सानैदेखि पढाईमा लगनशील साथै आफू मात्रै होइन, अन्यलाई पनि शिक्षित हुन प्रेरित गर्दै आफैं विद्यार्थी जम्मा गर्दै शिक्षाको ज्योति बाँड्दै हिँड्ने पुण्य र समाज परिवर्तनको काम गर्दै आएका डा. थीरमानलाई एम.बी.बी.एस.पछि नेपालमा आउने बित्तिकै पहिलो नियुक्ति तात्कालिन सरकारले राजधानीको वीर अस्पतालको क्षयरोग विभागमा दिइयो। २ वर्ष तात्कालिन समयमा देशकै सर्वाधिक ठूलो वीर अस्पतालमा सेवा प्रदान गरेपछि ०२४ सालमा उहाँलाई काठमाडौंकै उत्तरतर्फको शिवपुरी जलाधार तथा आरक्ष क्षेत्रको मध्य भागमा रहेको टोखा सेनिटोरियमको प्रमुखका रुपमा खटाइयो।
झण्डै सयवर्षअघि क्षयरोगबाट ग्रस्त राणा शासक चन्द्र शमशेर जबराले आफू जस्तै क्षयरोगीलाई स्वच्छ हावापानी र वातावरणका बीचमा विशेष सुविधा सहित उपचारको छुट्टै व्यवस्था गर्न उक्त सेनेटोरियम बनाउन लगाएका थिए। त्यस सेनेटोरियममा तत्कालिन नेपाली समाजका उच्च घराना र पहुँचवालहरुले मात्र सेवा लिन पाउने व्यवस्था गरिएको थियो।
तात्कालिन राज्यसत्तामा उच्च पदस्थ र पहुँचवालाहरुको सेवाका लागि खोलिएको सेनेटोरियममा ठूलाबडाको सिफारिसमा जागिर पाएकाहरुले बिरामीहरुले सेवामा भन्दा सत्तासीनहरुको चाकडीमा बढी ध्यान दिन्थे भन्ने त्यहाँ पटक–पटक भएका विभिन्न खालका घटनाहरुबाट प्रमाणित हुने गरेको थियो।
त्यहाँ भर्ना गरिएका बिरामीहरु पहुँचवालाहरुकै परिवारका भएपनि त्यहाँ हुने गरेका व्यवस्थापन र अन्य व्यवहारबाट असन्तुष्ट थिए। त्यस्तै असन्तुष्टी प्रकट गर्ने क्रममा एकपटक त त्यहाँ सेवारत् डाक्टरलाई समेत अभद्र व्यवहार गरेर फिर्ता गरेको जस्तो दुःखद् घटना पनि भएको थियो। त्यस्तो वातावरणमा प्रमुख भएर पुगेका डा. शाक्यलाई पनि शुरुमा ‘‘बच्चा डाक्टर” भनेर कसैले पत्याएका थिएनन् रे। साँच्चै त्यतिबेला डा. शाक्य ३० वर्ष टेक्दै गरेका युवा थिए।
उमेरले युवा भएपनि व्यवहारमा पाकोपन देखाएर डा. शाक्यले बिरामीहरुको मनोविज्ञान बुझेर विभिन्न दूरगामी उपाय अपनाउनु भएको थियो। त्यस्ता उपायहरुमा उहाँले त्यहाँ स्वास्थ्य उपचारका साथै विभिन्न अवसर पारेर खेलकूद तथा मनोरञ्जनको समेत व्यवस्था मिलाउने गर्नुभएको थियो। त्यसो गर्दा बिरामीले अन्य कुरा सोच्ने पनि समय नपाउने अवस्था श्रृजना भयो। यसरी युवा डाक्टर शाक्यको नौलो प्रकारको आत्मविश्वास र काम गर्ने नयाँ तरिका थाहा पाएर त्यहाँ रहेका बिरामीहरुमा बिस्तारै उहाँप्रति आस्था बढेको पाइन्छ। उहाँको लोकप्रियता त्यतिबेला टोखा सेनेटोरियमभित्र मात्रै सीमित रहेन।
फूर्सदका समयमा उहाँ रात बिहान नभनी टोखा, बुढानिलकण्ठ र त्यस आसपासका ग्रामीण बस्तीहरुमा स्वास्थ्य सेवा प्रदान गर्न पुग्नु हुन्थ्यो। त्यसरी जाँदा उहाँ लालटिनको बत्ती बालेर जनताका घर–घरमा पुग्नु हुन्थ्यो। तात्कालिन अवस्थामा बिजुली बत्तीको सेवा पनि पूर्ण रुपमा त्यस भेगमा पुगिसकेको थिएन । उपत्यकाका प्राचीन बस्तीहरु टोखा, बुढानिलकण्ठ लगायत त्यस आसपासका ग्रामीण जनजीवनमा डा. शाक्यको सेवाबाट स्थानीय जनतामा अत्यन्तै सकारात्मक प्रभाव परेको थियो। यसरी डा. शाक्यले त्यस क्षेत्रमा झण्डै तीनवर्ष सेवा गर्नुभयो।
०२७ सालमा उहाँ थप अध्ययनका लागि बेलायत जाने भएपछि उहालाई टोखा क्षेत्रका जनताले श्रद्धापूर्वक सम्मानका साथ विदा गरेको कुरा उहाँका भाई नाता पर्ने गुह्यरत्न शाक्यले स्मरण गर्नुभएको छ। शहरिया बुद्धिजीवीहरुले समेत ‘‘गरीवहरुका डाक्टर” उपनाम दिएका डा. शाक्य पेशाले चिकित्सक भएपनि मूलतः समाजसेवी हुनुहुन्थ्यो। उहाँको सेवा प्राप्त गरेका जोकसैले उहाँको गुणानुस्मरण गरेर लेखेको र बोलेको पाइन्छ।
०६५ माघ ५ गते निधन हुनुभएका डा. शाक्यले बुढानिलकण्ठ-टोखा क्षेत्रमा गर्नुभएको योगदानलाई लिएर अध्ययन, अनुसन्धान साथै अनुभवहरु प्रकाशन गर्न सके इतिहासबाट सिक्ने अवसर नयाँ पुस्ताले लिन पाउने थिए। काठमाडौंको उत्तरी भेग टोखा र बुढानिलकण्ठ क्षेत्रका विकास र सुस्वास्थ्यका क्षेत्रमा रुचि राख्नेका लागि त झन् यो विशेष अनुसन्धानकै विषय हुनसक्दछ। साथै गुणीको गुण स्मरण गरेर सही इतिहास जनसमक्ष ल्याउने अवसर पनि हुनसक्दछ।