गोली ठोकेर मारिदेऊ : वनमाली निराकार (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १ ।
हो, अहिले आएर
मलाई सोह्रै आनाबोध भयो
कि मैले यो देशका विरुद्ध ठूलो अपराध गरेको छु
त्यसैले अब मलाई बाच्ने विलकुलै ईच्छा छैन
हे सरकार,
मलाई टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ ।
सगरमाथा, बुद्घ र पशुपतिको सुन्दर शान्त देशलाई
कुरुप र अशान्त बनाउने जघन्य अपराध गरेको छु
काठमान्डुमा ठूला–ठूला महल र टावर बनाउनु पर्दो रहेछ, त्यो मैले गरिनँ ।
चार पाँच क्लिनिक चाहरेर
अकूत सम्पत्ती आर्जन गर्नु पर्दाे रहेछ,
त्यो मैले गरिनँ ।
चिल्लाचिल्ला कार फेरी फेरी चढ्नु पर्दो रहेछ,
त्यो मैले गरिनँ ।
जानिनँ प्रभु !
ती सब नगरेर मैले ठूलै अपराध गर्न पुगें
त्यसैले
हे सरकार,
मलाई टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ ।
पढाउँदै गरेका शिक्षकलाई कक्षाबाट तानेर रुखमा बाँधी
भालाले घोची घोचीमार्न सकिनँ ।
हलो जोत्दै गरेको किसानलाई खेतको हिलोमा गाड्न पनि सकिनँ ।
घाँस दाउरा गर्न गएकी किशोरीको बलात्कार पछि
हत्याका विषयमा त सोच्नै सकिनँ ।
घरमा सुतिरहेका अभिभावकहरुलाई थुतेर
नाबालाक सन्तानका अगाडि टुक्रा टुक्रापार्न
मेरो मनले दिएन प्रभु !
मैले ठूलै अपराध गरें
त्यसैले सरकार,
मलाई टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ ।
सरकार !
मैले भ्रष्टाचार गरेर अरबौं कमाउन सकिनँ
अपराधी छुटाउन मोटो रकम समाउन सकिनँ
भूकम्प पीडितको राहत कुम्ल्याउन सकिनँ
बाढी पीडितका लागि हेलिकप्टर चढ्न सकिनँ
जनतालाई कर लादेर आफ्नो सुबिधा बढाउन सकिनँ
मन्त्रीहरू किन्न सक्ने सिन्डिकेट चलाउन सकिनँ
बजारमा महंगी चर्काउने बिचौलिया
दलालबन्न सकिनँ ।
आफ्नो वरिपरि गुण्डा र डन पाल्न सकिनँ
पाल्तु कुत्ताहरूका अगाडि दुईचार करोड फाल्न सकिनँ
चाँदीको किस्तीमा किलोका किलो सुन टक्र्याउन सकिनँ
चरेशको थालमा मार्सी चामलको भातसम्म पनि
खुवाउन सकिनँप्रभु !
मैले ठूलै अपराध गरेको रहेछु
त्यसैले सरकार,
मलाई टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ ।
यति मात्र होइन मैले अरु अपराध पनि गरेको छु —
बाढी आक्रान्तहरूका लागि आफै औषधि बोकेर
तराई पुगेको छु
कर्णालीमा झाडा पखाला लाग्दा
झोलामा जीवनजल लिएर पुगेको छु
भूकम्प र पहिरोले क्षतविक्षत शरीरलाई
मलहम पट्टी गरिदिएको छु
दीनदुःखी असहायहरूको
शरीरको मात्र हैन, मनको घाउ पुर्न
मधेश, पहाड र हिमाल पुगेको छु
मबाट अपराध भएकै हो,
त्यसैले सरकार,
मलाई टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ ।
हजुरहरूले सिंहदरबार गाऊँगाऊँ पुर्यायौ भन्नुभयो
मैले शिक्षा र स्वास्थ्य,
कलम, कापी, सिटामोल र जीवनजल
जुम्ला, हुम्ला पुर्याई देउसम्म त भनेको हुँ
हजुरहरू त विदेश गईहाल्नु हुन्छ,
मैले त निमुखाहरू पनि सजिलै बाचुन सम्म त भनेको हुँ
गरीबका छोराछोरीले पनि अलि सहज र
राहतमा पढ्न पाऊन् भनेको सम्म त हुँ
अन्यथा भएछ,
प्रभुको अहम्मा चोट पुगेछ
मेरो निस्वार्थ भावले हजुरलाई मर्माहत पारेछ
मबाट भयंकर अपराध भएको छ प्रभु !
मलाई बाँच्ने कुनै अधिकार छैन
म डा. गोविन्द के सी
पुरै होशो हवाशका साथ आह्वान गरिरहेछु
हे सरकार ! मलाई राज्यद्रोहको अपराधमा
टुडिखेलमा खुलेयाम गोली ठोकेर मारिदेऊ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक