हलचल मन (कविता)
कपन अनलाइन
काठमाडौं, असोज २०। यशराज गौतम
के देखि के सम्म गरिएन होला ?
फर्की हेर्दा कलेजका दिन कठै कस्तो बेला ।
जिउ भरी खुसबुदार अत्तर पनि हालियो ।
चुच्चे पाइन्ट, बुट्टे सर्ट हमाल चुल्ठी पालियो ।।
राम्री कोहि देख्यो कि त अगिपछि गर्थे ।
साथी भाइ नै ब्वाँसा जस्ता भुतुक्कै भै मर्थे ।
जे भए नि ब्वाँसाहरुका एउटा इमान हुन्थ्यो ।
दौडमा पछि परे भने भाउजू नाता छुन्थ्यो ।।
म पनि त जवान केटा इज्जत धान्नै पर्यो ।
बल्ल तल्ल एउटी सँग मुटु ढुकढुक गर्यो ।
उमेरको पहिलो प्रेम आहा ! कस्तो कमाल ।
कल्पनाको धागो गासी बन्यो जाली रुमाल ।।
न हातमा मोबाईल हुन्थे न त घरमा फोन ।
कम्माईण्ड स्टडिको नाउमा टार्गेट डेटिङ जोन ।
न त टेक्ने जमिन थाछ न समाउने हाँगो ।
ऋण काटेरै भएपनी उनीलाई चुरा धागो ।।
अचम्मै पो हुन्थ्यो बरै, हुन पनि हेर !
एकदिन मात्रै नदेख्दा नि दिनै जान्थ्यो खेर ।
भ्याकेसन आउने बेला मनना चल्थ्यो हुरी ।
सर्प्राइज भेट हुने आसमा चौबाटो नि कुरी ।।
सपनाको दरबारमा मानौ रानीको खाँचो छ ।
चन्द्रमा नै किन्न सक्छु, मानौ कुबेरको साँचो छ ।
कल्पनाको संसार वाट जब हकिकत जाँचियो ।
प्रेमरथका चक्का हाम्रो त्यहिँ आएर भाँचियो ।।
आकाश खस्ने, धर्ती डग्ने, बैराग बैराग धुनहरु ।
जिस्काउथे अतितले, उराठ लाग्थे जुनहरु ।
हिजो सम्म स्वर्ग लाग्ने खोला डाडा पाखा पनि ।
बेला बेला झस्काउथे, रसाईदिन्थे आँखा पनि ।।
अस्ति छैन, हिजो थियो, फेरि खाली हात भो ।
समयको घाउ उसैले पुर्छ, के नै उत्पात भो ?
फेरि एउटा मोड आयो, बाटो अन्तै मोडियो ।
हात फरक साथ फरक छुट्टै सन्सार जोडियो ।।
कोट्याउछु बिगतलाई कहिले काही फर्किएर ।
प्रेमलाई नै सबै ठान्थे, दुख्थ्यो छाती चर्किएर ।
उमेरमा मन हलचल हुनु दुइ दिनको बहार हो ।
जस्तो पर्छ त्यस्तै टर्छ, जिवनको यहि सार हो ।।
(कवि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलका स्थायी बासिन्दा र सामाजिक अभियन्ता समेत हुन)
