बुढानिलकण्ठ नगरपालिकाका प्राविधिकहरु संग जनताको गुनासै गुनासो

कपन अनलाइन 

काठमाडौं ,असोज १४।

स्थानीय तहमा हुने हरेक किसिमका विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि योजनाको विवरण ,लागत अनुमान र अन्य प्राविधिक तयारी गर्ने महत्वपूर्ण शाखाका रुपमा रहेको शाखा हो प्राविधिक शाखा । यसै शाखाका कर्मचारीहरुको जिम्मेवारीमा हरेक किसिमका विकास योजनाको गति र प्रगति जोडिएको हुन्छ।

नगरपालिकाको परिषदले पास गरेका योजनाहरु ,संघीय र प्रदेस सरकारका योजनाहरुको DPR निर्माण गर्ने ,लागत अनुमान निकाल्ने र योजना सम्पन्न भए पछी त्यसको अनुगमन गरी प्रतिवेदन समेत बुझाउने गहन जिम्मेवारी प्राप्त गरेका प्राविधिक हरुको गति र कार्यसम्पादनमा तदारुकताले नगरपालिकाको कार्य क्षेमता देखिने भए पनि उनीहरुको काम गर्ने शैली र जवाफदेहिताक कमीले गर्दा विकासको गतिमा नै अवरोध पुग्ने गरेको छ ।

यसको ज्वलन्त उदाहरणका रुपमा बुढानिलकण्ठ नगरपालिकाको प्राविधिक शाखा रहेको छ। एकाद प्रदेस सभा सदस्य र वडाहरुको काम विविध दवाव र प्रभावका कारण समय मै गरे जस्तो देखिए पनि यस नगरपालिकाका प्राविधिकहरुको वारेमा जनप्रतिनिधि र जनताको गुनासोलाई एकै ठाउमा जम्मा गर्ने हो भने नगरपालिकाको भव्य भवन भन्दा अग्लो चांग हुने एक जनप्रतिनिधि बताउछन ।

बुढानिलकण्ठ नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरेको विवरणमा सबै भन्दा धेरै उजुरी परेको शाखाका रुपमा प्राविधिक शाखा रहेको कुरा सार्वजनिक हुँदा समेत त्यस शाखाका कर्मचारीको कार्यशैलीमा कुनै परिवर्तन नआएको अर्का जनप्रतिनिधिले गुनासो गरेका छन।

प्राय स्थलगत निरीक्षण ,अनुगमन र अध्ययन जस्ता काम हुने भएकोले सो शाखाका कर्मचारीहरुलाई कार्यालय आउने र जाने समय सीमाले असर नपर्दा पनि उनीहरुमा अराजकता बढेको नगरपालिकामा काम गरिसकेका एक पुर्व प्रमुख प्रशासकीय अधिकृतले बताएका छन ।

एक पटकको प्रतिनिधि मुलक घटना सुनाउदै उनले भने ,” मैले कार्यालय बाट प्राविधिक हरुलाई सम्पर्क गर्दा उनीहरुले स्थलगत अध्ययनमा रहेको बताएका थिए र मा पनि मेरा कर्मचारीको लगनशीलता प्रति गर्व गर्दै खाजा खान निस्केको त् उनीहरु कार्यालय नजिकैको रेस्टुरेन्टमा बसेर मस्त गफ चुटिरहेका भेटिए।”

बुढानिलकण्ठ नगरपालिकाका प्राविधिकहरुको कार्यशैली र लापरवाहीको  सबैभन्दा बढी उपभोक्ता समितिहरु मारमा परेका छन। सम्झौता भए संगै नगरपालीकाका जनप्रतिनिधिहरुले उपभोक्ता समितिलाई काम चाडो सम्पन्न गर्नका लागि दवाव दिए पनि त्यो सहेर बस्नु बाहेक कुनै विकल्प नहुने एक उपभोक्ता समितिका अध्यक्षले बताए। हामीले सबै कुरा तयार पारे पनि प्राविधिक हरुको मुड र अनुकुल समय पर्खिनु पर्दा समय वित्ने बाध्यता प्रति संकेत गर्दै उनले भने यसको निराकरण गर्ने उपायका वारेमा निकै गम्भीर बहस हुनुपर्दछ।

यस सम्बन्धमा प्राविधिकहरु संग जिज्ञाशा राख्दा उनीहरुले जनशक्ति कम रहेको र काम निकै भएकोले यो अवस्था आएको बताएता पनि यसको समाधानका लागि के गर्नुपर्छ भन्ने लिखित र औपचारिक सुझाव  भने दिएको पाइदैन । विभिन्न समयमा भएका बैठकहरुमा गुनासो पोख्ने सिवाय उनीहरुले कहिँ पनि यसको वारेमा गहन र प्रभावकारी तरिकाले कुरा उठान नगर्दा यसले सिंगो नगरपालिकाको कार्यसम्पादनमा असर परिरहेको एक जनप्रतिनिधि बताउछन ।

नगरपालिकाका प्राविधिकहरुलाई केहि भनौ भोलि आफ्नै वडाको योजनामा ढिलाई गर्देलान भनेर वडा अध्यक्षहरुले पनि खासै उनिहरुको वारेमा खुलेर बोल्न नसकेको बताउदै एक वडा अध्यक्षले के गर्नु बेलगाम घोडा जसरि उनीहरुलाई छोड्नु परेको छ भन्दै व्यंग्य,लाचारी र पिडा मिश्रित अभिब्यक्ति दिएका छन।

उपभोक्ता समिति पछाडी प्राविधीक कर्मचारीहरुको कार्यशैलीको मारमा परेका अर्को पक्ष भनेको योजना निर्माणको जिम्मा पाएका ठेकेदारहरु रहेका छन। नगरपालिकामै जागिर खाए जसरि जनप्रतिनिधि ,सल्लाहकार र अनुगमन समिति सदस्यहरुको अगाडी पछाडी एडीसी जसरि घुम्ने एकाद ठेकेदार बाहेक अन्यले रकम भुक्तानी ,योजना सम्पन्न प्रतिवेदन र इस्टिमेट जस्ता कार्यमा समेत निकै सास्ती भोग्नु परेको एक ठकेदारले नाम नलेख्ने शर्तमा गुनासो पोखेका छन। यदि नाम लेख्दिनु भयो भने विभिन्न समयमा हराएका फाइलहरुको लाममा आफ्नो पनि थपिने भन्दै उनले पटक पटक नाम नलेख्न  अनुरोध गरेको देख्दा सजिलै अनुमान लाउन सकिन्थ्यो सो शाखाको बेथिति र अराजकता।

प्रमुख प्रशासकीय अधिकृत ,इन्जिनियर र कर्मचारीहरुले अख्तियारको हावा खाइसक्दा पनि अटेरी बनेर नसुध्रिएका कर्मचारीहरुलाई सहि बाटोमा ल्याए पछी मात्र संचार माध्यममा बोल्ने बताउदै आएका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाका सामु देखिएको यो प्रमुख चुनौतीलाई कसरि सामना गर्लान र यसलाई किनारा लगाउलान वा अन्य झैँ हात उठाएर बिदा होलान  भन्ने व्यग्र  प्रतिक्षामा अहिले जनप्रतिनिधि , उपभोक्ता समिति ,ठेकेदार र नगरवासी रहेका छन।

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।