पर्दा पछाडीको संसार : राजेश अधिकारी (कविता )

पर्दा पछाडीको संसार : राजेश अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज १२ ।

पर्दा पछाडी छोपिएका अदृश्य सर्जकहरु
लय र शब्दको गुच्छा गुँथेर संगितान्जली अर्पिन्छन्
मृदुल झन्कारहरु सांगीतिक नाङ्लोमा निफन्दै
ब्यथितका बेदनाहरुमा मलमपट्टी गर्छन्
पर्दा पछाडी लुकेका कर्मठ बादकहरु
मधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्
डबलीका सदृश्य कलाकारहरु
छोपिएका सर्जकका पकवानहरुलाई
आफ्नै झोलीको डाडुपुन्यु झिकेर
दर्शकको आँखा र कानमा पस्किन्छन्
गुप्त भान्सेद्वारा ओइरिएको जीवन्तताले लठ्ठिएर
दर्शकदीर्घाको भोकप्यासलाई तृप्तता मिल्छ
डाडुपुन्यु बोक्ने वितरकहरुको स्तुति गरिन्छ
पकवान पस्किनेहरु लोकप्रिय बन्छन्
प्रत्यक्ष कलाकर्मीहरु प्रशंसाका उपहारहरु बटुल्दै
श्रोता र दर्शकको दिलमा डेरा जमाउन पुग्छन्
देन भएर पनि दुत्कारिएका
चिंगार भएर पनि चाउरिएका
र दम भएर पनि दाउरिएका
बेनाम र गुमनाम पर्दा पछाडीका सर्जकहरु
बेवास्ता र अपरिचितताका पुतला बनाइन्छन्
लाश जलाएर पखालिएको चिता झैं
यी पखालिएका उत्प्रेरक प्रतिभाहरु
लाशको खरानी र चिताको कोईला झैं
नदीमा बगेर बेपत्ता हुन्छन्
पर्दा पछाडी लुकेका अदृश्य हातहरुले
अर्काको काँधमा बन्दुक भिरिदिएर
आफ्नो शिकार ढाल्न लगाउँछन्
पर्दा पछाडी छिपेका पटाक्ष पाखण्डीहरुले
बाहिर लामो र सुकिलो दाह्रा प्रदर्शन गर्छन्
तर आफ्नो जबडाभित्र छुपेको लुप्त दाँतले
समाजका मर्म र मान्यताहरु चपाउँछन्
चश्मे पर्दा पछाडी लुकेका धुर्त चक्षुहरु
हेर्नै नहुने गुप्ततालाई चिहाई चिहाई हेरिदिन्छन्
छातीको पर्दा पछाडी लुकेका बेलगाम दिलहरु
मर्यादा र नैतिकताको पर्खाल नाघ्दै नाचिदिन्छन्
ढोंगको पर्दा पछाडी लुकेका सकुनी हातहरु
प्रणामी हात जोड्दै आत्मीयकै गला थिच्न पुग्छन्
स्वार्थको पर्दा पछाडी लुकेका कपटी कानहरु
कटुसत्यता सुन्दैनन् मधुझुठहरु सस्वाद सुनिदिन्छन्
रजाइँको पर्दाभित्र लुकेका भ्रस्ट झ्याले जिब्राहरु
ब्रह्मलुट र परधन प्राप्तीमा हर्षित भइदिन्छन्
वासना र बासनाका पर्दा पछाडीका दुराचारी नाकहरु
गुलाबमा दुर्गन्ध आँक्दै गन्धहीन पलाँसमा रमाइदिन्छन्
पर्दा पछाडी चलखेल गर्ने अदृश्य नियन्त्रकले
जिन्दगीहरुलाई रंगमंचमा कठपुतली बनाइरहेको हुन्छ
नाच्ने र नचाउने डबलीको परिधिभित्र पिल्सिएर
जन्मदेखी मृत्युपर्यन्त जीवनहरु जिइरहेका हुन्छन्।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।