कस्तो कविता सुनाऊँ ?

कस्तो कविता सुनाऊँ ?

कपन अनलाइन

काठमाडौं ,असोज १२ /त्रिलोचन आचार्य

 

१. कोही छ भोकै पसिना बगाई
कोही विना काम बसे अघाई
यो खिन्नता तोड्न कता म जाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

२. कोही गरी शोषण मख्ख पर्छन्
कोही विना पोषण नित्य गल्छन्
खै चित्र मैले कसको सजाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

३. गर्नेहरूकै जब नाम हुन्न
भर्नेहरूकै जब ठाम हुन्न
यो रीत के सोध्न कहाँ म धाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

४. कोही नपढ्दा पनि लेख्नुपर्ने
स्वप्ना अनेकौँ किन देख्नुपर्ने ?
फाल्द्यौँ म कापी कि अझै रमाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

५. बोेकेर सुस्ता उभिनेहरूको
वा लिम्पियाका भनिनेहरूको
छाती दुःखेको कि म गीत गाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

६. भोकै उकाला कति के चढे हुन्
लाग्दा डँडेलो कति के डढे हुन्
त्यो प्रश्न के आज यहाँ उठाऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

७. कुर्लौँ कि स्वच्छन्द म छन्द रोजौँ ?
आकाश खोजौ  कि म बन्द रोजौँ ?
भै शान्त नाचौँ कि म जुर्मुराऊँ ?
आमा म कस्तो कविता सुनाऊँ ?

तपाइँको प्रतिक्रिया ।