नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतलाइ कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौँ, भाद्र १९ । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।केहि दिन अघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो । बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो ।
नागार्जुन नगरपालिकाले स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको उप प्रमुख सुशिला अधिकारीले कपन अनलाइनलाइ जानकारी गराइन ।
नगरप्रमुख बस्नेत वडाध्यक्ष राजेन्द्र बुढाथोकी सँगै मोटरसाइकलमा बसेर एक गार्मेन्टले भदौ १६ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए । सोही दिन साँझ बुढाथोकीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको जानकारी पाए लगत्तै नगर प्रमुख बस्नेत सहित उनका सम्पर्कमा आएका ब्यक्तिहरु होम क्वारेन्टाइनमा बसेका छन् ।