चन्द्रागिरिमा ‘खोइ मास्क’ अभियान चलाइने

चन्द्रागिरिमा ‘खोइ मास्क’ अभियान चलाइने

कपन अनलाइन

काठमाडौं श्रावण २४ ।चन्द्रागिरि नगरपालिकामा ‘खाेइ मास्क’ अभियान सुरु गरिने भएकाे छ । नगरका अधिकांश मानिसहरुले मास्क नलगाइ हिडेकाले साे अभियानकाे सुरुवात गर्न लागिएको हो  ।

कोरोना भाइरसको जोखिम बढे पनि चन्द्रागिरि नगरपालिकाको सतुंगलमा मास्कको प्रयोग गर्न छाडेपछि नि:शुल्क मास्क समेत  वितरण गरिएको छ।महानगरीय प्रहरी प्रभाग बलम्वु, समुदाय प्रहरी साझेदारी वडा समिति ११ सतुंगल तथा ट्राफिक स्वंय सेवकले अनिवार्य मास्क लगाउन आग्रह गर्दै नि:शुल्क मास्क वितरण गरेका हुन्।नगरका सतुंगल बजार, विष्णुदेवी,खरिबोट,सिप्रदीबालकुमारी, बलम्वु,क्षेत्रमा समेत मास्क नलगाई पैदलयात्रा गर्नेलाई नि:शुल्क मास्क वितरण गरिएको समुदाय प्रहरी साझेदारी वडा ११ वडा संयोजक हरिभक्त महर्जनले बताए।

कोरोना  विरुद्ध जनचेतना बढाउन ‘अनिवार्य रूपमा मास्क लगाउ’,’सामाजिक दुरी कायम गरौं’, ‘जथाभावी नहिडौ’, ‘जोरविजोर प्रणाली अनुसार यात्रा गरौं’ भन्ने  प्लेकार्ड सहितको  र्‍याली समेत गरिएको  थियो  ।नगरभित्र झण्डै ३ हजार थान बढी नि:शुल्क मास्क वितरण गरिसकिएको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख खेमराज राउतले बताए।‘मास्क नलगाउनेलाई कारबाही समेत थालेका छौं’, उनले भने।

महानगरीय प्रहरी वृत्त थानकोटले मास्कबिना नै बजार र समुदायमा डुल्नेलाई एक पटकका लागि १ सय रुपैयाँ जरिवाना गर्न थालिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले बताए।प्रहरीले चन्द्रागिरिमा ‘खै मास्क ?’ अभियान नै चलाउने भएको छ। थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पासबिना उपत्यका प्रवेश गर्ने विभिन्न निजी तथा भाडाका सवारीसाधन चालकलाई संक्रामक राेग ऐन २०२० अन्तर्गत कारबाही गर्ने गरेको छ।

फोटो : रोशन दानी

 

तपाइँको प्रतिक्रिया ।