अर्ती : ओमप्रसाद कोइराला (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन ३।
नराख बाँझो अब खेतबारी
हराभरा पार्न बनौं तयारी
बनेर अल्छे पुगिदैन धाम
बसेर कैले नबने हराम ।
बिहान चाँडो उठ बेश हुन्छ
सुकार्यमा तत्पर भै रहन्छ
बिगार गर्ने नगरेर बानी
बनेर बस्ने गर पूर्ण ज्ञानी ।
समाजमा पर्नु हुँदैन मार
परो भने गर्नु सबै सुधार
सदैव राम्रो गर त्यो बिचार
हटाउनै पर्छ समस्त मार ।
रिसाउने काम नगर्नु बेश
बनाउने गर्नुछ दिव्य देश
बिनम्र बन्ने सुविचार लेऊ
उमङ्गको भाव सदैव देऊ ।
दुखीहरुको दुखमा सुधार
गरेर राम्रो बस बार—बार
विदेशमा के छर जानु भर्ती
स्वदेशमै बस्नु सुनेर अर्ती ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।