फिक्का : डा. विदुर चालिसे (लघुकथा )

फिक्का : डा. विदुर चालिसे (लघुकथा )

कपन अनलाइन 
काठमाडौं ,असार २०।

‘दुर छौ वा सुदुर तिमीबिना म बाँच्न सक्दिन । तिमी बाँचेको ठाउँ कस्तो छ ?’
उसले यो लाइन पढ्ना साथ भावुक भयो र आफ्नो हातमा भएको राइफललाई भूईंमा थ्याच्च राख्यो । उसका आँखामा आँशु रसाएर आए । उसले निकै हतारमा फेरि अर्काे लाइन पनि पढ्यो ।
‘दैवले साँचे कालले बाँचे फेरि पनि भेटौंला ! मलाई यहाँ बचाउने कोही छैन । तिमी उता छौ । म यता छु ।तिम्रो हातको राइफल पड्केको समय धूवाँको गन्ध बेलाबेला यता पनि आउँछ ।’
उसको मन एकपल क्रुर बन्छ । दुश्मनतिर सोझिएका राइफल फेरि प्रति दुश्मन तिर सोझ्याउँछ ।
‘उफ ! यो अमरसिंहको राइफल?’
इतिहास सम्झेर छातीमा हात राख्छ । पानीको खुब प्यासले सुकेको घाँटीमा तुम्लेटको पानी तुर्क्याउँछ । फेरि हरफहरू पढ्न थाल्छ । ‘गोर्खाली सँग धोखा भन्ने शब्द छैन !’ उ मनमनै मुर्मुरिएर सम्हालिन्छ । बिस्तारै अर्काे हरफ पढ्न पुग्छ । ‘भोकमरी सहन्छु । अभाव सहन्छु तर मसिने तैंले सहेको देख्न सक्दिन । तेरो अचेल राइफल पड्कन त पड्कन्छ के ?’
उसलाई यी शब्दहरू आफ्नै घाउको पीडाझैं लाग्यो र आमाको चेहरा बरोबर सम्झ्यो । छातीमा उम्लिएको साहस तथा बगेको रगतले फेरि राइफलको कन्धा उचाल्यो । वरिपरि हेर्याे । सबैजना लडिरहेका थिए । उसको सामुन्ने कतैबाट एकाएक फायर चल्यो । उ झस्याङ्ग भयो।उस्लाई फायरको वेग भन्दा मेसेजको वेग निकै रफ्तारको लाग्यो । फेरि छेउको ढिस्कोमा आडा लागेर मेसेज पढ्न थाल्यो ।
‘आखिरी दिन अब के गर्छाै ? म पनि छियाछिया भएर अस्मिता लुटिएकी छु । सन्तानको अनुहारमा त्रास मात्रै छ । हामी नहुनेलाई सबै छिमेकीले पेलेकै छन् । बाँच्ने आधार त तिम्रै राइफल न बाँकी हो ?’
‘हो माई ! कपट भयो ?’ उसको स्वाभिमानमा कपटको बेल्ट बाँधिदिइएको थियो । जब उसले कपटको बेल्ट फुकाल्नथाल्यो । यत्तिकैमा कताकताबाट उसको छातीमा गोली लागेर उ ढल्यो । उस्को मुखमा युध्द उत्तेजनापूर्ण आवेशका शब्दहरू गुन्जितभए । ‘जय गोर्खा !’
युद्धमा मृत भएका सैनिकहरूका लागि सलामी चल्दै थियो । एउटा शब मानिकै रोचक भाषा लेखिएको थियो । ‘हिम्मत !’
दर्शकहरूलाई लज्जाबोध भएर हो या सम्मान के हो निहुरिरहेका थिए । बोल्ने साहस कसैको पनि
थिएन ।नजिकै दुलही माला लिएर पर्खिरहेकी थिई । तिनले सलामीमा अबीरले टीका दिई । फुल चढाई र माला लगाइदिई । सबैले ठाने ।
‘यसको विहे आजै रेछ ?’ उत्साह, उमङ्ग, साहस र वीरताको सट्टा करूणा र वेदनाका बाजाहरू बजेका थिए । न्याउलीको सट्टा अर्कै धुन सुनिएको थियो । सहभागीहरूले भने ।
‘आज साह्रै फिक्का भो !’

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।