तीन चरणमा लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

तीन चरणमा लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २९ ।

कोरोना नियन्त्रण र रोकथामका लागि ७९ दिनसम्म रहेको   लकडाउनलाई   खुकुलो बनाउने सरकारले निर्णय गरेको  छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ हो। जसअनुसार पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गरिनेछ ।

समितिको प्रस्तावअनुसार पहिलो चरणमा अर्थात् सुरुको २१ दिनसम्म स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण, फोहोरमैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य, कृषि बिउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय विकास आयोजना, निर्माण कार्य,  नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्टाइनका लागि तोकिएका होटेल, बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारीसाधन मर्मत गर्ने वर्कसप,  पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय र अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)  खुल्नेछन् ।

तर, यो अवधिमा शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक), सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल, अनुमतिप्राप्त गरेकाबाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान, तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत, सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन, २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटिपार्लर, खेलकुद प्रतियोगता, पहिलो चरणमा खुल्ने भनी तोकिएकाबाहेक अन्य सबै सवारीसाधन, बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमनमा भने लकडाउन जारी रहनेछ ।

तपाइँको प्रतिक्रिया ।