लकडाउन साधना र सिर्जनाको सुनौलो अवसर
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २५ /प्रशुराम अधिकारी
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण हामी यतिबेला लकडाउन (बन्दाबन्दी)को ७४ औं दिनमा छौं । गाउँ होस् या सहर, चोकबजार, सडक, चौतारा होस् या पार्क, थिएटर, सपिड मल, होटल रेस्टुराँ सबै चकमन्न छन् ।पर्यटकले व्यस्त रहने पोखरा, सौराहा, काठमाडौँ लगायत सहरहरु पनि सुनसान छन् ।
हिजो मानिसले व्यस्त जीवनबाट केही क्षण भएपनि समय निकालेर आफ्ना रहर पूरा गर्न हप्ते बिदा कुर्नु पथ्र्यो । तर आज केही अति आवश्यक पेसा बाहेकका बाँकी हामीले हाम्रो जीवनकै सबैभन्दा लामो फुर्सदलाई बिताइरहेका छौं ।
हिजो खाना खान र सुत्न पनि समय नहुने व्यस्त नेता, व्यापारी, कलाकार, साहित्यकार सबै आजभोलि फुर्सदिला भएका छन् । कतिपय लेखक तथा साहित्यकारहरुलाई आफ्नो जागिर र दिनहुँ पर्ने अनेक कामले सिर्जनामा लाग्ने फुर्सद थिएन भने कतिपयको लागि आफ्नै रचना संग्रह गर्ने फुर्सद थिएन । पढ्न थालिएका कतिपय पुस्तक अधुरै थिए होलान। यो लकडाउनले सबैलाई सिर्जनामा लाग्ने, आफ्ना रचना सम्हाल्ने र अधुरा र नयाँ पुस्तक पढ्ने अवसर दिएको छ ।
यथास्थानमै बस्न बाध्य गराएर लकडाउनले मानिसलाई आफ्नै जीवनसँग एक पटक पुनः साक्षात्कार गराएको छ ।लेखकीय जिन्दगीमा अतिरिक्त फुर्सदले पक्कै पनि नयाँ उभार ल्याएको हुनुपर्छ । सधैँ व्यस्त रहने जिन्दगीमा केही फुर्सद पाएर आफुले चाहेको सिर्जनामा लाग्न केही समय मिलेको छ ।
आफुले पढ्न चाहेको पुस्तक पढ्ने, आफुले लेख्न चाहेको विषयमा थप अध्ययन गर्ने, त्यसलाई गहिरो रुपमा बुझने र गहन अध्ययन पश्चात सिर्जनाको रुपमा उतार्ने यो एक सुनौलो अवसर हो ।
फुर्सदिलो समयलाई पनि व्यवस्थापन गर्दै स्वयं भित्र लुप्तकला तथा सिर्जनालाई परिष्कृत बनाउने साधनामा अधिकतम समय दिन सकिने भएकोले यो समय अवसरको रुपमा पनि लिन सकिन्छ । जति धेरै पढ्न सक्यो त्यती धेरै ज्ञानको दायरा बढ्छ, नयाँ शब्द जानिन्छ र आफ्नो लेखन शैलीको विकास पनि हुन्छ । आफ्नो अध्ययन र चिन्तनको दायरालाई फराकिलो बनाउँदै बृहद विषयमा पनि सिर्जना गर्न सकिन्छ ।
कतिपय लेख्दा लेख्दै छोडेका रचनाहरुलाई पुरा गर्ने अवसर मिल्छ । जुन कुराले त्यो लेखन अड्केको थियो । त्यस कुरालाई गहन रुपमा चिन्तन मनन गरेर अझ उत्कृष्ट रचना गर्ने अवसर हुन सक्छ । पहिले आफुले नै अध्ययन अनुसन्धान गरेर सङ्ग्रहीत सामाग्रीहरुलाई विश्लेषण गरेर आफ्नो सिर्जनालाई परिमार्जित गर्न सकिन्छ र क्रमशः अनुकुल समयमा पाठकहरु सामु पुर्याउने कुरा त छँदै छ ।
कतिपय महान लेखक साहित्यकारहरु आफ्ना विभिन्न आन्दोलन र अभियानका क्रममा राज्यद्रोहको मुद्दा खेपेर बन्दी जीवन बिताइरहेका अवस्थामा राम्रा सिर्जनाहरु गरेका छन् ।
उनीहरुले जेलमा हुने फुर्सदको समयलाई सिर्जनामा बदलेर थप प्रसिद्धि कमाए । नेपालकै विश्वेश्वर प्रसाद कोईरालाले आफ्ना अधिकांश साहित्यिक रचनाहरु बन्दीजीवनको उपयोग गर्दै सिर्जना गरेका थिए ।
त्यस समय उनी द्वारा लेखिएका भएका सबै रचनाहरु उत्कृष्ट छन् । बन्दीजीवनमा पठन सामाग्रीहरुको अभावमा पनि उत्कृष्ट सिर्जनाहरु आउन सक्दा रहेछन् भने अहिले (लकडाउन) को अवस्थामा त आफुले र नजिकका साथीभाई र आफन्तहरुले संकलन गरेका र इन्टरनेटमा प्रशस्त पाइने पठन सामाग्रीहरु नै सिर्जनामा निखारताको लागि अध्ययन स्रोत बन्न सक्छन् ।
जो हिजोको समयमा भन्दा उपलब्धताको हिसावले सहज छन् साथै नविन सिर्जनाका लागि तिनको अध्ययनबाट थप उर्जा मिल्दछ ।
घरमै बसेर गर्न सकिने अनुसन्धान मूलक काम गर्न पनि यो समय महत्वपूर्ण हुन्छ । आजको डिजिटल भर्चुअल युगमा धेरै कुराहरु खोज्न हामी धेरैतिर भौतारिरहनै पर्दैन । खोजेका सबै कुराहरु नपाइएलान् तर आँफुसँग भएका र त्यसलाई थप पूर्ण गर्नका लागि केही सामाग्रीहरु, केही उपाय र तरिकाहरु अवश्य पनि इन्टरनेटमा पाइन्छन् ।
पाइएका, भेटिएका कुराहरुको सहि तथा सिर्जनात्मक उपयोगले पनि निकै महत्व राख्दछ । महामारी दुःखदायी हो तर फुर्सद अवसर हो, रचनात्मक उपयोग गर्नुपर्छ ।
यस्तोबेला आफुलाई बाहिरी सांसारिक खोजभन्दा भित्री आत्मीक चिन्तनमा लगाउनुपर्छ । लकडाउनको एकान्तवास आत्मिक यात्रामा निस्कने अवसर हो । यो यात्रामा किताब गज्जबको सहयात्री हो । किताबले हामीलाई यथार्थ र कल्पनाको संसारमा शयर गराउँछन् । कल्पना पनि विपनाकै अर्को रुप हो, सिर्जना र शक्तिको स्रोत हो । किताबमा उल्लेखित विचार र भाव सहितको यात्राले ज्ञान र दर्शनको दुनियाँमा लैजाने हुनाले पनि यो आत्मिक यात्राको पहिलो साथी हुनसक्छ । अहिलेको विषम परिस्थितिमा पुस्तकले हामीलाई एकान्तवासमा सहयोग गर्छ । कोरोना कहरको विक्षिप्तताबाट किताबले अन्तकतै लैजान्छ । अन्य कुरा यथावत राख्ने हो भने पुस्तक पढ्नेहरुका लागि लकडाउन अरुले सोचे जस्तो भयावह हुँदैन ।
किताब सबैका लागि रुचिको विषयनहुन सक्छ । विभिन्न खाले पत्रपत्रिका तथा इन्टरनेटमा उपलब्ध लेख, समाचार, विचारहरु हेरेर वा सुनेर पनि ज्ञानको दायरा फराकिलो बनाउन सकिन्छ । लेख्न सधैं अध्ययन आवश्यक छ भन्ने पनिहुँदैन ।
मानिस जीवन जिइरहँदा आफ्नै जीवनका कतिपय रोचक र लेखनयोग्य पलहरु वेवास्ता गर्दै बाँचीरहेको हुन्छ । उसले ती क्षण वा आफ्ना भोगाईहरुलाई संस्मरणको रुपमा पनि लेख्न सक्छ । जुन कुरा कसैको लागि प्रेरणा, हौसला र ज्ञानवर्धक हुनसक्छ । किताब पढ्नु, लेख्नुमात्रै सिर्जना होईन । हामीले पाएको अमूल्य समयलाई रचनात्मक रुपमा व्यतित गर्नु सिर्जनात्मकता हो ।
सिर्जनाका विभिन्न आयामहरु हुन्छन् । खासगरी जीवन र जगतलाई सार्थक बनाउने प्रयास गर्नु सिर्जनात्मकता हो । ति विविध विधा र आयाममा साधनारत रही सार्थक निष्कर्ष निकाल्ने प्रयासले महत्व राख्छ नै ।
जीवनमा अनेकौं प्रयास गर्दा पनि निकाल्न नसकिएको फुर्सद अनायास अहिले निस्कियो । वास्तवमा हाम्रा लागि यो वरदान सावित होस् । हामीले भित्री मनले चाहेको तर व्यस्तताले नभ्याएको रचनात्मक कर्म गर्नको लागि यो समय उपयोगी होस् ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै असल र सार्थक जीवनका लागि फुर्सदलाई सिर्जनामा बदलौं । वातावरण पनिशान्तर स्वच्छ भएकोले समयले सिर्जनामा लाग्न थप प्रेरित गरिरहेको छ । महामारीको संत्रासमा पिरोलिएर हैन, सिर्जनात्मक भएर रचनात्मक क्रियाकलापमा आफु लागौँ र अरुलाई पनि रचनात्मक हुन प्रेरित गरौं । हाम्रो यस्तै प्रेरणाले हाम्रो समाजको समग्र रुपान्तरणको लागि निकै ठूलो योगदानहुन सक्छ ।