मनासिब ! (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २४ /छायादत्त न्यौपाने
साँझ आठ बजेको थियो । बाबाले कार्यालयको गाडीबाट ओर्लेर ढोका खोल्नुभयो । गाडी भित्र छिर्यो ।बाबा चुपचाप दाल चामलका बोरा भित्र हुल्न कस्सिनुभो । चालक सघाउँदै थिए ।आमाले राख्ने ठाउँ देखाउँदै मलाई पनि सघाउन जाँ भन्नुभो ।
मलाई यो के हो किन यति धेरै सामान? जिज्ञासा भयो । बाबासँग सोधेँ । उहाँले नसुनेझैं गर्नुभो । मैले फेरि सोधेँ । उहाँले आँखा तर्नुभो ।
म पढ्ने कोठामा छिरेँ । गाडी गयो ।बा आमा कानेखुसी गर्दै हुनुहुन्थ्यो । म बिलखबन्द थिएँ ।आमाले खाना खान बोलाउनुभो । मैले खान्नँ भनेँ । ढोका खोलिनँ । आमाले कर गरे पनि मानिनँ बा थपिनु भो । मैले जिज्ञासा तेहेराय , बाबा अकमकिँदै ‘आज अफिसमा राहत बाँड्ने कार्यक्रमथियो । त्यसबाट बचेको मैले पनि अलिकति ल्याएको नि !’ भन्नुभयो । बाबाका कुराले मलाई दुखी बनायो । मैले भनेँ, म खानाखान्नँ, तपाईंहरू खानुस्, म भोलि घर गएर हजुरबाआमा सँग खेतबारीमा काम गर्छु र आफ्नै परिश्रमको फल खान्छु । यो ठगेको खाना खान्नँ ।
बाबा आमाले यो सम्पत्ति तेरै लागि, म तेरै लागि काम गर्छु भनेर मनाउने प्रयत्न गरे पनि सुनिनँ । भनेँ, कक्षामा सरले भनेको कुरा मनासिब रहेछ।
अरुका नामको खानेकुरा ठगेर, खोसेर, लुकाएर खाए बुद्धि भ्रष्ट हुन्छ । त्यतिबेला पत्याइनँ ।अहिले मन किन पढाइमा लाग्दैन ? अरु अरु नचाहिने कुरा सोचिरहन्छ भनेको त यस्तो खानाले पो बुद्धि बिगारेको रहेछ ।
यो कोरोना कहरमा परेर काम गर्न काम नपाउने घरमा अरु व्यवस्था नहुने अप्ठेरोमा परेकाले पाउनुपर्ने राहत तपाईंले लुटेर ल्याउने ? मलाई राम्रो काम गर, धेरै पढ रे ! आफू यस्तो ! यस्तो दुष्कर्मको आर्जन खाएर सत्कर्म गर्न सकिन्छ ? जस्तो खायो त्यस्तै बुद्धि !
मेरा कुराले बाबाआमा दुवै चुपहुनुभो, मेरो अनुहार हेर्न सक्नु भएन । उहाँले ‘अबदेखि यस्तो हुँदैन र यो पनि अप्ठेरोमा परेका हाम्रै छिमेकीहरूलाई बाँडौँला’ भन्नुभो । उहाँले गल्ती नदोहोरयाउने बाचा गरेपछि हामीसँगै बसेर खाना खायौं । ओहो ! धन्न आज मलाई फोहोरको थुप्रोमा बसेर सभ्य छु भनी ढिपी गर्नु परेन ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक