सपना !
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२।
बजेट भाषण सुन्न मैले आफ्नो नियमित फेसबुक लाइभलाई छोटो पारेँ । अनि पलेटी कसेर नेपाल टेलिभिजनको पर्दामा अग्लो कालो कोट लगाएको मान्छे बेला बेलामा रुमाल निकाल्दै अनि पसिना पुछ्दै बजेट वक्तव्य दिएको टुलुटुलु हेरेँ। घरमा बुबाले छोरा छोरीलाई अगाडि राखेर चकलेट बाड्न लागेको जस्तो महसुश गर्दै उहाँका हरेक वाक्यलाई ध्यानपूर्वक सुनेँ । कोरोना कोभिड १९ को असरले अक्रान्त विश्वसँगै मेरो देशको सरकार त थाहा भएन तर जनता थलिएका थिए ।
राहतको आशामा बजेट कुरेका जनताले आहात मात्र पाए कि जस्तो भान भईरहेको थियो । निजी स्कुलमा पढाउने एउटा शिक्षकलाई आफ्नो संस्था बलियो भए आफू पनि बलियो हुन्छु कि भन्ने झिनो आशा लिएर शिक्षाको बजेटलाई अझ गहिरो सँग ध्यान दिए तर थलिएका ७००० निजी विद्यालयले २७००० सामुदायिक विद्यालयलाई पूर्वाधार विकास सहित जिम्मा लिनुपर्ने वाक्यांश सँग कता – कता सहमत हुन सकिन । सहमत नहुने वुँदा धेरै भएपनि त्यता अलिक बढी केन्द्रित भएँ ।
सांसद विकास कोष र आफ्ना भत्तामा पुर्न विचार नगरिएकोमा कता – कता जनताको मनोभावना नबुझेको बजेट लागिरेहको थियो । यस्तै सोच्दै राती पनि कुन बेला निदाएँछु, पत्तै भएन ।
सपनामा त चीनको सिमानाबाट रेल चढेर रसुवा अनि नुवाकोट हुँदै आफ्नै जन्मथलो टोखा झोर हेर्दै पोखरा लागेँछु । अनि पानी जहाज चलेका , देशमा युरेनियम कारखाना खोलिएको , देश त पुरै अर्गानिक कृषिमा लागेको हेर्दै बुटवलसम्म पुगेँछु । विश्व सम्पदा सूचिमा रहेको लुम्बिनी हेर्न टिकट नपाएर युरोप र अमेरिकनहरु निराश भएको दृश्य देख्दै थिँए ।
मनमा बढो उत्साहा लिएर सुरुङमार्ग अनि रेल हुँदै काठमाडौं आँए । बौद्धमा रहेको पर्यटकहरुको भीड अनि बहुत सुन्दर काठमाडौं देखेर मन प्रफुल्लित हुँदै थियो । एक्कासी एकजना छिमेकी भाइले मोटरसाइकलको हर्न बजाएछ म त झल्यांस भएँ । बिहान भइसकेछ।
अनि व्युँझिएर किचेन तर्फ तातो पिउन गएको हिजो देखि चामल सकिएर ल्याउन नपाएको पो सम्झेँ । अनि अगाडिको मेडिकल कलेज चोकका सडकहरुमा गिज्याइरहेका खाल्डोहरु हेर्दै केही राशन किनिसक्दा पकेट पनि लगभग सकिएको थियो । बैङ्क खाता पनि रित्तिएको थियो । त्यहीँ माथि राजश्व विभागको कर र्तिने म्यादको सूचना । प्रदेश सरकारहरुले किन्दै गरेका करोडौं मूल्यका गाडीका समाचार हेर्दै अनि कवारेन्टाइनको विजोग । छोरी पाल्न नसकेर आमाले छोरी मारेको सुचना अनि ९०० भन्दा बढीको आत्महत्या र मेरो अर्थमन्त्रीको बजेट , मेरो सपना अनि यथार्थ दाँजे र फेरि एक गिलास चिसो पानी पिएर आफैसँग प्रश्न गरेँ । प्रकाश…! किन देखिस् यस्तो सपना ?