मेरो देशको सीमा (कविता )
कपन अनलाइन
काठमाडौं जेठ २२/ कृष्णप्रसाद नेपाल
अखण्ड यो राष्ट्र जब हुन्छ खण्ड
रहन्छ त्यहाॅ अब के अखण्ड
उम्लिन्छ तातो रगतै नशामा
रोकिन्न धड्कन मुटुको पलामा
ओठै छ फर्फर् न सिमा रिसैको
वाणी छ बर्बर नबुद्धि वशै भो
ती दुष्टवैरी किन हो यता छन्
सिपाही हाम्रा किन अल्मलिन्न्छन् ।
कुटी र काली शिरतर्फ झण्डा
गाडिन्छ हाम्रो मन बन्छ ठण्डा
सीमा मिचेका घटना कति हुन्
प्रवृत्ति हेपा दिन रात बढ्छन् ।
सत्ता छ अन्धोसरि नेत्र बन्द
नसुन्छ कानै किन कर्ण मन्द
लाटो छ वाणी न त शब्द प्रष्ट
नेतृत्व भो शून्य पथबाट भ्रष्ट ।
सुन्दै नसुन्ने किन जस्तो गर्छौ
रहस्य के हो किन गोप्य राख्छौ
यो मामिला होइन व्यक्ति जस्तो
अखण्ड राष्ट्रै किन हुन्छ सस्तो ।
अखण्डतामा जब आउॅछ ऑच
रहन्न उॅचो शिर विश्वमाझ
ढिलो भएता पनि लागलाग
रक्षार्थ राष्ट्रैतिर जागजाग ।।
(कवि अरुणोदय मा बि आरुबारीका प्रधानाध्यापक हुन । )