हाम्रो फेरिएको जिम्मेवारी र भुमिका
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८ /शिवराज गौतम ‘प्रयासी’
२०७७ जेठ १३ गतेका दिन पोकली झरना सेवा समाजले पोकलीमा पुर्वाधार निर्माण गर्ने र पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले करिब ७ रोपनी जग्गा खरिद प्रक्रियाको थालनी गरे पछि म पनि पोकलीकै बासिन्दा, त्यस संस्थाको संस्थापक मध्येको एक सदस्य र लिखुबासी भएकोले सम्पुर्ण लिखुबासीमा थपिएको खुशिमा प्रफुल्लित भएर २/४ शब्द लेख्ने प्रयास गर्दैछु ।
२०६३ सालमा गुरु केदार बरालको अध्यक्षतामा स्थापना भएको यो संस्थाले विगत देखि नै प्रशंसनिय कार्य गर्दै आएको थियो । वर्तमानमा अरु कोरोनाको डरमा गुप्तबास बसिरहँदा पोकलीका उर्वरशील युवाहरु राहत वितरण र स्वास्थ्य सामाग्री वितरणमा अहोरात्र खटिरहनु भएको छ । युवा साथीहरुको नयाँ जोश, जाँगर र पुरानाको अनुभवलाई संयोजन गरी आजभोलि जताततै लिखु उर्लिएको छ । यो निरन्तर रहिरहोस शुभकामना ।
संस्था स्थापना देखि नै लिखु आसपासका क्षेत्रहरुलाई पर्यटकीय गन्तव्य बनाउनु पर्दछ भनेर विभिन्न चरणमा विभिन्न कामहरु भए । खासगरी २०७३ फाल्गुन २५ मा तत्कालिन पर्यटन मन्त्री प्रदिप ज्ञवाली , त्यसपछि २०६४ जेठ ४ मा तत्कालिन पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र २०६५ सालमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री हिसीला यमी, संस्कृति मन्त्री गोपाल किराँती हुँदै हुलाक टिकट टाँचा लगाउने पर्यटन तथा संस्कृति मन्त्री मोहन बहादुर बस्नेत ओखलढुंगामा पर्यटन विकास तथा पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्ने पर्यटनमन्त्री स्व. रवीन्द« अधिकारी लगायत थुप्रै मन्त्री तथा नेताहरुको महत्वपुर्ण योगदान रहेको छ ।
यसैक्रममा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन विशेष पहल गर्ने पूर्व संविधानसभा सदस्य, सभासद, सांसदहरुको ठूलो भुमिका रहेको छ र समग्रमा सम्पुर्ण ओखलढुङ्गावासी नागरिकको अहम भुमिका छ । गतवर्ष नेपालका सुन्दर १०० गन्तव्यहरु मध्ये पोकली झरना र खिजिदेम्बा पनि पर्न सफल भएको छ । यस्तै विभिन्न कामहरुले गर्दा हामी ओखलढुंगेलीहरुलाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ ।
केही महिना अघि हामी पर्यटन वर्ष २०२० मा जुटिरहेका थियौँ ।
पर्यटक भित्राउन देश विदेशमा प्रचार–प्रसारमा व्यस्त थियौँ । प्रचार–प्रसारका विभिन्न माध्यमहरु मध्ये ए.बि.सी टेलिभिजनको चर्चित कार्यक्रम इन्द्रेणी को लोक दोहोरी प्रतियोगिता गराँउदै महोत्सव गरिसकेका थियौँ ।
पर्यटकहरुलाई बस्ने खाने व्यवस्थाको लागि लमजुङ्गको घलेगाउँमा हाम्रा आमासमुहलाई अध्ययन भ्रमण गराईरहेका थियौँ। विभिन्न क्षेत्रको सरसफाईमा जुटेर होमस्टे व्यवस्थापन गर्नका लागि तल्लिन भएको बेला अप्रत्यासित रुपमा आएको कोरोना भाइरस (कोभिड १९) को महामारीले हाम्रो काम र जिम्मेवारीलाई फेरिदिएको छ । यसले विशेषत :भौतिक दुरि सँग सम्वन्ध राख्ने हुनाले हाम्रा सम्पुर्ण गतिविधिहरु बदलिदिएको छ ।
सँधै भरि हरेक मान्छेलाई भ्याइ, नभ्याइ, हतारो अनि तछाँडमँछाडको व्यस्त जीवनशैलीबाट विश्वको सिंगो मानव समुदायलाई अब हतार होइन खचाखच र कोलाहल दुनिँयाबाट भागेर एकान्त र शान्त दुनिँया विचरण गर्न बाध्य बनाएको छ । विश्वका धनी सम्पन्न दुनिँया अब बिस्तारै हाम्रो मुलुकको रीति, चालचलन, संस्कृति, परिवेश र व्यवहार प्रति आकृष्ट भएको पूर्विय सभ्यताको ‘नमस्कार’ बाटै प्रष्ट भएको छ ।
विश्व ध्वस्त गर्ने अणुबम, एटमबम बनाउनेहरु आज अदृश्य जीवाणु/भाइरस मार्ने उपाय नदेखेर/नभेटेर आतंकित बनेका छन् । त्यसैले हिमाल, पहाड, वन, सम्पदा जस्ता सामाजिक दुरी बढाउने ठाँउहरु नै प्रिय हुन सक्छन् । हालको दशकमा नेपालका कुना–कुनामा पर्यटकीय स्थलहरुको खोज र विस्तार गर्दै गरेको अवस्था छ । त्यसैले हाम्रा ठाँउहरु विदेशिहरुका लागि घुम्न उपयुक्त हुन सक्लान् । भुकम्प र नाकाबन्दीले खुम्च्याएको पर्यटन व्यवसाय विस्तारै बामे सर्दै गर्दा विश्व नै नयाँ अनौठो महामारीको चपेटामा पर्यो ।
अहिले पर्यटक आवागमनको रुचिलाई हेर्दा धार्मिक, नेचर लक्जरी, सेल्फ ड्राइभ रोड टिप्स, एडभेन्चर सपिङ्ग, हनिमुन, ग्रुप ट्राभल्स, मेघा इभेन्ट, स्वास्थ्य, योगा, मेडिटेसन, बर्ड वाचिङ्ग, आध्यात्मिक आदि क्षेत्रमा पर्यटन व्यवसाय बढेको देखिन्छ ।
हामीले पनि पर्यटकहरुको रुचिलाई अध्ययन गरी हिमाल, ताल, झरना, मठ–मन्दिर, प्राकृतिक सम्पदा, अल्पसंख्यक जातजाती, रीतिरिवाज, संस्कृति, व्यवसायिक कृषि, औद्योगिक फर्म, विश्व सम्पदा सुचिमा सुचिकृत क्षेत्रहरुको विस्तारमा जोड दिनु पर्दछ । हामी पोकलीबासिले आफुलाई केन्द्र भागमा राखेर लिखु नदि जलाधारक्षेत्रका करिव ४० वटा (साविक गा.वि.स) हाल ३/४ वटा गाँउपालिकाहरुलाई समेटेर पर्यटन व्यवसायलाई अग्रगति दिँदा राम्रो हुन्छ ।
यसका लागि भौतिक संरचना, बाटो कालोपत्रे, राम्रो विद्युत व्यवस्थापन, पर्यटकीय क्षेत्रहरुको सुधार तथा सुदृढिकरण, बजारीकरण, निजी क्षेत्र तथा समुदायलाई पुर्ण रुपमा प्रशिक्षण गर्न सकेमा आगामी दिनमा विश्व बजार नै बिरक्तिएको र सुस्ताएको बेलामा हामीले विश्वपर्यटनलाई जुरुक्क उठाउने आँट गर्नुपर्दछ । यो महामारीबाट सिर्जित चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्नुपर्दछ ।
अब हामी ओखलढुंगाबासीले पोकली र देम्बालाई मात्र होइन सिंगो जिल्लालाई नै पर्यटकीय ‘हव’ को रुपमा विकास गर्नुपर्दछ । नेपालमा पर्यटक बढाउन पर्यटकहरुको प्रकृति अनुसार नीति, नियम उपयुक्त बनाउन जरुरी हुन्छ ।
यो कोरोनाले सिकाएको अर्को पाठ पर्यटन व्यवसाय र पर्यटक सँगै स्वास्थमा विशेष सावधानी अपनाउनु पर्दछ । भौतिकदुरी, आवागमन, आवास, भोजनको गुण्स्तरीय प्रबन्ध गर्नुपर्दछ । अल्पकालिन र दीर्घकालिन रणनिती र कार्ययोजनाहरु बनाएर अघि बढाउनु पर्दछ । हरेक क्षेत्रलाई गुरुयोजनाहरु बनाएर चरणबद्ध रुपमा राष्ट्रलाई आर्थिक रक्तसंचार गराउनु पर्दछ ।
हामीले अब पर्यटक आउनेक्रम बढाउन अध्यागमन शुल्कमा सुधार, भिषामा इलेक्ट्रोनिक्स प्रणाली, व्यवसायीहरुले लगानिमा वृद्धि र आधुनिकिकरण गर्न जरुरी हुन्छ । केन्द«, प्रदेश र स्थानिय तहको मापदण्ड तथा सुधार योजनामा समेत महत्वपुर्ण भुमिका रहन्छ ।वास्तवमा आजका पोकली झरना सेवासमाजका युवा साथीहरु जुर्मुराएर लागेको खण्डमा यो एकदिन श्रीखण्ड बन्छ नै र विभिन्न पर्यटकीय ठाँउहरुमा टिकट काटेर छिरेर हेरे झैँ हाम्रो लिखु जलाधारलाई उपयुक्त पर्यटकिय गन्तव्य बनाउन सकिन्छ । त्यसका लागि हामी सबै मन, वचन र कर्मले एकजुट बनौँ ।
( लेखक गौतम लिखु–९ पोकली, लेतीका स्थायी बासिन्दा हुन् )