आज जेठ १५ !
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५
आज जेठ १५ ! सबैतिर बाट गणतन्त्र नेपालको शुभकामना प्राप्त भईरहंदा गणतन्त्र नेपाल प्राप्त गर्नका लागि सडकमा निस्किएका हामी जस्ता मजदुरहरुको स्थिति का बारेमा सोच्ने राज्य ब्यबस्था र हुनेखाने वर्ग हराएको अनुभूति भएको छ।
विश्व कोभिड-१९ संग लडिरहेको र नेपाल पनि त्यस महामारी बिरुध्द जुधिरहेको बर्तमान अबस्थालाई सहयोग गर्दै लकडाउनमा रहेका हामिहरु अब रोगले भन्दा पनि भोकले मरिएला कि भन्ने चिन्तामा छौं।
प्रधानमन्त्री ले भनेजस्तो पैला जनताको स्वास्थ्य ठिक हुनपर्यो बांकी कुरा मिलाउंदै जाउंला भन्ने तर्क सही छ तर सरकारले दिएको कानुनी आदेशलाई पालना नगरी हामी जस्ता श्रमिकहरुलाई विगत २ महिना देखि तलब समेत नदिई पिडा थोपर्ने ती ब्यबसायीहरुको गणतन्त्रमा पनि अझै हालिमुहाली नै चलिरहने कस्तो गणतन्त्र ल्याएछौं हामीले ?
गणतन्त्रमा त हामीले आशा एवं भरोसा गर्ने राज्य संयन्त्र मजवुत हुनुपर्छ।कानुनी राज्यको पालना सबैले गर्ने हुनुपर्छ।शक्तिको अाडमा हैन सत्यको आडमा सबै चल्ने हुनुपर्छ।हुनेखानेको हैन हुंदा खानेको बोली राज्यले सुन्ने हुनुपर्छ।
जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी हुनुपर्छ।कर्मचारी संयन्त्र राज्य प्रति वफादार हुनुपर्छ।संविधान बाट प्राप्त उपलब्धिहरु सै जनताहरु को पहुंचमा पुग्न सक्ने हुनुपर्छ।अनि पो गणतन्त्र आए जस्तो लाग्छ श्रमिकहरुलाई हैन र? ऐले त राज्यको निर्देशन बमोजिम कोरोना को प्रकोप बाट वच्न अनि बचाउन हामी घरमै छौं।
सम्पुर्ण प्रतिष्ठानहरु प्राय:ठप्प छन्।यो विपद् वा विशेष परिस्थिति हो भनेर जान्दाजान्दै केही ब्यबसायीहरु हाजिर नगर्नेलाई तलब दिईन्न भनेर अर्को कार्ड फाल्न शुरु गरेका छन् रे ।
यो ब्यबसायीहरुको हर्कत सही हो त सरकारले जवाफ दिन पर्यो। ती मनोरोगी ब्यबसायीहरुलाई चेतना होस् हामीले हाजिर नगरी वा कामै नगरी ऐले सम्म तलब लिएका छैनौं,ऐले पनि हामी रहरले घर बसेका हैनौ,काम गर्ने वातावरण भए हामी अफिस आउन तयार नै छौं र आ आफ्नो जिम्मेवारी सम्हाल्ने बिश्वास दिलाउन चाहान्छौं।
पुंजी लगानी गर्ने र श्रम लगानी गर्ने सबैलाई राज्यले समान व्यवहार गरोस् ।धेरै ब्यबसायीहरुले पनि श्रमिकलाई तलब खुवाउन गणतन्त्र दिवसको दिन आउने बजेट भाषण नै कुरेका छन् रे । हामी त मजदुर पर्यौं,गणतन्त्रमा त हामीले भरोसा गर्ने भनेको राज्य नै त हो नि हजुर ! १३ औ गणतन्त्र दिवसको हार्दिक शुभकामना ।