लकडाउनको कारण जीर्णोद्धार रोकिएको गोकर्णेश्वर महादेव मन्दिर ! (फोटो फिचर)
कपन अनलाइन
काठमाडौं जेठ ५ ।कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि काठमाडौंका अधिकांश क्षेत्र सुनसान भएका छन् ।मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ।उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिदै आएका छन् भने केहि बेर होल्ड मा राखेर कारवाही पनि गर्दै आएका छन। सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकर लगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । सामान्य समयमा भिडभाड हुने स्थानहरू अहिले लगभग मानवविहीन भएका छन त्यस्तै अरुबेला भिड हुने गोकर्णेश्वर महादेव मन्दिर पनि यतिबेला सुनसान रहेको छ। मन्दिरमा नियमित नित्य पुजा बाहेक दर्शनार्थीहरुको लागि मन्दिर बन्द गरीएको छ कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकहरु आइरहने सो क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् ।
लकडाउनको कारण लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम समेत अहिले रोकिएको छ।
मन्दिर संरक्षणका लागि पुरातत्व विभागले एक करोड रुपैयाँको लागतमा जीर्णोद्धार गर्न लागेको हो । नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि शुरु भएको थियो ।यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो सो महायज्ञबाट रु तीन करोड उठेको थियो । नगरपालिकाले एक करोड रुपैयाँ समेत बजेट विनियोजन गरेको छ । छाना फेर्न १७ करोड रुपैयाँ बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले आम नागरिक घर भित्र भर्च्युल संसारमा रमाइरहेको भए पनि बाहिर कस्तो होला भन्ने सबैमा कौतुहलता रहेको छ त्यहि बाहिर हेर्ने र बुझ्ने तपाईहरुको अभिलाषा पुरा गर्न गोकर्णेश्वर महादेव मन्दिर परिसरका केहि तस्बिरहरु कपन अनलाइनका फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका छन् ।