कोरोनाको सतही मनोबिज्ञान
कपन अनलाइन
काठमाडौं ,जेठ ५/ यशराज गौतम
मान्छेहरुको सबै भन्दा ठुलो डर भनेको मृत्यु हो । मृत्यु शाश्वत छ तर पनि मान्छे मर्न देखि सबै भन्दा बढी डराउछ । हुन त यो डर प्राकृतिका सबै प्राणीहरुलाई हुन्छ तर मान्छे चेतनशिल प्राणी भएकोले अरु प्राणी भन्दा मानव मृत्यु देखि अलि सजग हुने गर्दछ । अहिले विश्वब्यापी रुपमा कोरोनाको महामारी फैलिएको छ । मान्छेहरु आफ्नै आँखा अगाडि मृत्युलाई देखिरहेका छन । मान्छेहरुमा महामारिको कारणवाट हुन सक्ने मृत्युले व्यापक डर पैदा भएको छ ।
संचारको क्षेत्रमा भएको बिकास आधुनिक युगको सबै भन्दा ठूलो उपलब्धी हो । संसारको कुनै पनि कुनामा भएको घटना, सन्देस तुरुन्त संसार भरी पुग्न सक्छ । यस महामारिको बारेमा मान्छेहरुलाई रोगको उत्पत्ती, यसका लक्षण, यसले गरेको हानी, नियन्त्रणका लागि अपनाईएको उपाय, सफलता, असफलता आदि सबै कुराहरुको बारेमा ज्ञान छ । त्यसैले गर्दा पनि आम मान्छेहरुको मनोबिज्ञानमा व्यापक भय सृजना भएको छ । हुन त यस्ता मानव संहारका घटनाहरु इतिहासमा नभएका होइनन । महामारी, प्राकृतिक बिपत्ति, दुर्घटना, युद्ध आदिको कारणले इतिहासमा पनि करोडौ मान्छेहरुले ज्यान गुमाएका तथ्यांकहरु छन । हामि ईतिहासलाई सजिलै भुल्दछौ किनकी हामिलाई सबै भन्दा ठूलो समस्या बर्तमानको हुन्छ । ईतिहास बितेर गइसक्यो तर बर्तमान हामि आफैले भोग्नु परेको हुन्छ । हामिलाई आफ्नो दुख, संकट ठूलो र अरुको सानो लाग्नु मानवको प्राकृतिक मनोबिज्ञान हो । किनकी म सुरक्षित हुनु मेरो पहिलो प्राथमिकतामा पर्दछ । अरुलाई जे सुकै होस तर म मर्न चाहन्न । यो नै मानव जातिको आम मनोबिज्ञान हो ।
विश्व भरी कोरोनाको डर फैलिएको छ । विश्वका अधिकांश देशमा लकडाउन छ । विश्व भरिको अर्थतन्त्र, प्रशासन, विद्यालय प्राय ठप्प भएको छ । आज एउटा मान्छे सगँ अर्को मान्छे ससंकित भएको छ । चाहे मेरो लागि जति नै प्रिय मान्छे किन नहोस तर अर्को ब्यक्ती प्रती भरोसा छैन । उपचारमा खटिएका चिकित्सकहरु र तिनका परिवारहरु पनि त्यही भय भएको मान्छेहरु नै हुन । हस्पिटलमा काम गर्ने चिकित्सक सके यो संक्रमित देखि टाढा रहन पाए हुन्थ्यो भन्ने खालको मानसिकता रहेको छ । दिनभरी सडकमा तैनाथ सुरक्षाकर्मीको मनस्थितिमा अटेरी जनतामा आदेशको पालना गराउने कोशिसमा छ । संक्रमित ब्यक्ती अपहेलना र उपेक्षाले गर्दा मानसिक बिचलन भोग्नु परेको छ । सरकार आफ्नो कमजोरीलाई छोपछाप गर्ने मनस्थितिमा छ । पत्रकार विषम परिस्थितिको संबेदनशिलतालाई जिम्मेवार ढंगवाट प्रस्तुत हुनु भन्दा नि मात्र समाचारको खुराकको खोजिमा छ ।सामाजिक संजालका आतंककारी पिपासुहरु जनतामा त्रासको खेती गर्ने मनस्थितिमा छन ।
कोभिड -१९ भाईरस एक छिटो एक ब्यक्ती वाट अर्को ब्यक्तिमा फैलन सक्ने भाईरस हो । यो जुनसुकै मौसम, जुनसुकै भुगोल, जुनसुकै हावापानीमा, संपर्कका बस्तुको माध्यमवाट सर्न सक्दछ । यसको अस्थाई ब्यबस्थापन भनेको भाईरस वाट टाढा बस्ने नै हो र स्थाई ब्यबस्थापन भनेको यसलाई निर्मुल पार्नु नै हो । अहिले उपचार पछि घर फर्केकाहरु समेतमा त पुन संक्रमण देखिएको छ भने यसलाई संसार वाट एकैसाथ हटाउन सकिँदैन । जति नै सफा गरे पनि कहि न कहि रहेको सानो अवशेष बाकी रहन सक्छ । त्यति अवशेषले पनि पुन फैलिन सक्छ । आखिर कहिले सम्ममा यस भाईरस वाट मुक्ती पाईन्छ ? जब सम्म यो भाईरस बिरुद्ध कुनै ठोस उपचार पत्ता लाग्दैन तब सम्म यसको निर्मुलिकरण सम्भव हुने स्थिती देखिदैन । कहिले सम्म उपचार पत्ता लाग्ला अनि कहिले सम्म विश्वभरिका अरवौ मान्छेहरुको पहुचमा पुग्छ यो तेसै भन्न सकिने अवस्था छैन ।
आज एक देशले अर्को देश सँग, एक सहरले अर्को सहर सँग, एक गाउँले अर्को गाउँ सँग, एक समुदायले अर्को समुदाय सँग र एक परिवारले अर्को परिवार सँग दुरि कायम गरेर बसेका छन । यसको उपचार कहिले सम्म पत्ता लगाउन सक्छन वा सक्दैनन, केही भन्न सकिँदैन । अनि यसरी सामाजिक दुरिलाई आखीर कहिले सम्म कायम गर्न सकिन्छ ? बोर्डरमा लाखौ लाख मान्छेहरु आआफ्नो देश प्रवेश पाउने आशामा जनावर जस्तै जीवन बिताउन वाध्य भएर बसेका छन । बिदेशमा आफ्नो मुलुक फर्किने दिनको प्रतिक्षामा कुरेर बसेका छन । बरु मर्नै परे पनि परोस तर आफ्नै मुलुकमा मर्न पाईयोस भनेर प्रार्थना गरिरहेका छन । केही गरि बिदेशमा रहेका आफन्तको दुखद समाचार कानमा पर्यो भने बर्षौ पछि सम्म पनि न टुप्लुक्क आई नै हाल्छन कि ! न त्यो समाचार झुटो पो भईदिन्छ कि ! भनेर आफन्त तथा प्रीयजनहरुले बर्षौ सम्म पनि आकास तिर जहाज हेर्दै बस्ने छन । उसलाई सम्झदै घरीघरी कहालिलाग्दो सपना देख्नेछन । ब्यवारिसे अवस्थामा रहेका शबका आफन्तले भन्दैछन “बरु जस्तै बिडम्बना सहन परे पनि ति शबको आफ्नो संस्कार अनुसारको आफ्नै आँखा अगाडि अन्तिम संस्कार पाईयोस” भनेर कल्पेर बसेका छन ।
अझ हाम्रो देश नेपालले त न ती लाखौ विदेशिएका नागरिकलाई देशमा बोलाउन सक्छ, न तिनका उपयुक्त ब्यबस्थापन नै गर्न सक्छ । रोग लागेर मरिएला वा नमरिएला त्यो केही भन्न सकिँदैन तर खाली पेटको अगाडि जो किहिले चाहेर पनि आफुलाई सम्यमित राख्न सक्दैनन । हाम्रो देशमा त्यस्ता गरिवहरु कति छन कति, जसका घरमा दैनिक दुख नगरी चुलो बल्दैन । जब उनिहरुको त्यो समस्या जटिल बन्दछ, तब तिनिहरुलाई सरकारले चाहेर पनि ब्यबस्थापन गर्न सक्ने अवस्था देखिदैन । यस्तो परिस्थितिमा भोको पेट आखिर कहिले सम्म चुप लागेर बस्न सक्छ ? यो रोग कसैगरी गरिवमा फैलिन थाल्यो भने कुनै धनी, सम्पन्न, शिक्षित, सभ्रान्त, शक्तिशाली कुनैपनि बर्ग महामारीको चपेट वाट टाढा रहन सक्दैन । कि त छिटो भन्दा छिटो कोरोनाको उपचार उपलब्ध हुनु पर्दछ । नत्र यस रोगलाई आत्मासाथ गर्नु बाहेक हामी सग अन्य कुनै बिकल्प हुने छैन । हामी सबैले कामना गरौ ! यस महामारिको स्थाइ समाधान छिट्टै हुनेछ । तर केही गरि समाधान हुन सकेन भने हामि सँग दिर्घकालिन मार्गचित्र के छन ? त्यसको बारेमा पनि सरकारले आजै सोच्न जरुरी छ । यदि त्यस्तै परिस्थिती परि हाल्यो, रोग नियन्त्रण क्षमता भन्दा बाहिर भयो भने के गर्ने ? हामिले कम्तिमा हाम्रो मनोबिज्ञान बलियो बनाउन सक्नु पर्दछ कि यो रोग लाग्दैमा सबै जना मरिने पनि होइन ।
इतिहासमा पनि यो भन्दा डर लाग्दा भयानक प्राकृतिक बिपत्ती आएका थिए, सबै टरेर गए । यो महामारी पनि टरेर जानेछ । हाम्रो देशमा जति जना सवारी दुर्घटनामा परेर मरेका छन त्यो भन्दा निकै न्यून मृत्युदर रहेको छ । सन्सार भरिमा जति मान्छेहरुको रुघाखोकी, दम, सुगर, प्रेसर, ज्वरो आदि रोग वाट मृत्यु भएको छ त्यो भन्दा पनि कम मात्र मानिसहरु यो रोगको कारण वाट मृत्यु भएको छ । अब यदि यस रोग विरुद्धको औषधि समयमा नबन्ने हो भने हामिले यसलाई आत्मासाथ गर्न सक्नु पर्दछ । त्यसैले आवस्यक परेमा यस सत्यलाई आत्मासाथ गर्न सक्छु भन्ने मनोबिज्ञान बनाउन पर्दछ । तर यसो भन्दैमा हामिले अहिले लापर्बाही, हेलचेक्राई गर्नु हुदैन । कम्तिमा म सुरक्षित रहन सके भने मेरो परिवार, मेरो टोल, मेरो गाउँ , मेरो देशलाई जोगाउन सक्छु । त्यसैले मेरो देशलाई जोगाउन पनि पहिला म सुरक्षित हुन जरुरी छ । भोलि न कतै उपचार निस्कन पो सक्छ कि !
(लेखक बुढानिलकण्ठ ११ जगडोल निवासी सामाजिक अभियन्ता पनि हुन। )