विश्व माहामारी (कोभिड १९) र पर्यटन
कपन अनलाइन
काठमाडौं ,बैशाख २६ /अर्जुन पाण्डे
कोरोना भाइरस ( कोभिड १९ ) ले हाल विश्व माहामारिको रुप लिएको छ । यो संकटलाइ दोश्रो विश्व युद्ध पश्चातको विश्वले सामना गरेको सबैभन्दा ठूलो संकट मानिएको छ । यसलाइ नियन्त्रण गर्ने औषधि, खोप वा अन्य उपाय हाल सम्म उपलव्ध नहँुदा सन्सारका धेरै देश लक डाउनको अवस्थामा छन् जसका कारण विश्वमा आर्थिक कृयाकलाप मन्द छ, पर्यटकिय गतिविधी ठप्प छ ।
अन्तराष्टिय पर्यटन बन्द हुँदा २०२० को सुरु देखि हालसम्म विश्वको ९० प्रतिशत पर्यटकिय कृयाकलाप यसबाट प्रभावित भएका छन् । यो वन्दा बन्दीका कारण हालको प्राथमिक आँकलन अनुसार विश्व हवाइ सेवा, क्रुज, होटल आदि व्यापार सोच्नै नसकिने आर्थिक मारमा परेका छन् । फलत यो बर्ष पर्यटनमा २० देखि ३० प्रतिशत कमि आउने प्राथमिक आँकलन गरिएको भए पनि यसले ४० देखि ६० प्रतिशत सम्म व्यापारमा कमि आउन सक्ने बताइएको छ ।
नेपाल जस्तो देश जहाँ पर्यटनलाइ विकासको एउटा आधार मानेको छ, यो क्षेत्रलाइ कसरी बचाउने ? सरकारी वा निजी पर्यटन क्षेत्रले सोच्नु पर्ने अहं समय हो यो । बेलैमा समाधान नखोजिए अकल्पनिय आर्थिक दुर्घटना निम्तिने निश्चित छ ।
जाहेर छ अहिलेसम्म यो भाइरस विरुद्ध भ्यक्सीन छैन । जे जति खोप वा औषधीको संभावना छन् ति सबै परिक्षण कै क्रममा छन् । साथै एउटा कुरा निश्चित छ कि अब भ्याक्सिन उपलब्ध भएछ नै भने पनि लामै समय सम्म सामाजिक दूरि कायम राख्नै पर्दछ । यस्तो वातावरण आफै बनिरहेको छ । अरु बेलामा बल प्रयोग गरेर नियम लगाउनुपथ्र्याे भने अब मानिस आफैले यस्ता नियम अपनाउन अग्रसर हुनेछन् । मानिससंग ढेस्सिएर बस्ने बानीपरेकाहरु अब आफै पर पर सर्नेछन् ।
रमाइलो त के छ भने, पूर्विय संस्कृति भएको हाम्रो समाजमा केही बर्ष देखि आधुनिक हुँ भन्नेहरुले हुर्काएका पश्चिमा ढर्रा, चाल चलन अहिले भालुलाइ बन्दुक पड्काए झैं भैरहेछ ।
हात मिलाउने, बेला न कुबेला घाँटीमा झुण्डिने, अंकमाल गर्ने, चुम्वन गर्ने, एक आर्काको जुठोको ख्याल नगरी खाने, आदि पश्चिमा संस्कृतिलाइ आधुनिक सभ्यता भनि रमाउनेहरु धेरै त यु टर्न भैसकेका छन् बाँकी रहेकाको पनि अब अरु विकल्प छैन । अब मै हुँ भन्नेले पनि कि टाढैबाट हात जोडेर नमस्कार, नमस्ते, जदौ, वा दर्शन भन्नु पर्नेछ कि टाउको हल्लाएर मात्र बस्नु पर्नेछ ।
कोरोना पछी खुलेको पर्यटन कस्तो हुनेछ ?
कोरोना भाइरसको माहामारीले विश्व अर्थतन्त्रलाइ झन झन उठ्नै नसक्ने गरि थिलोथिलो पार्दैैछ । विश्वको कुनै पनि देश यसको असरबाट अछुतो रहेन । यसको असर कहाँ सम्म पुग्ला ? यो आँकलन अहिल्यै गर्नु सजिलो छैन तर के चाहिँ प्रष्ट हो भने, यो महामारीले धानिनसक्नुको असर कुनै क्षेत्रमा परेको छ भने त्यो हो पर्यटन ।
पर्यटन क्षेत्रमा जस्तो सोझो असर र दिर्घकालिन असर अरु क्षेत्रमा परेन र पर्ने छैन पनि । महामारीको सुरुआति दिन देखि जब अन्तरराष्टिय उडानहरु प्रभावित भए त्यसबेला देखि पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेपेको छ । केहि समय पस्चात हालको लक डाउन खुकुलो हुनेछ र खुल्नेछ ।
अबका दिनमा पर्यटन क्षेत्रको नाप नक्सा बदलिनेछ । यो अत्यन्त कठीन, चुनौतिपूर्ण र जोखिम युक्त हुनेछ ।
घर छाडेर घुम्न निस्कने पर्यटक आफै वा पर्यटन व्यावसायमा संलग्न व्यावसायी, कामदार दुवै थरिका निम्ति अबका दिन निकै कष्टकर हुने प्रष्ट छ । रमाइलो गर्न, आनन्द लिन घुम्न निस्कने पर्यटकहरु एकले अर्कालाइ नछोइकन यात्रा गर्न पर्नु नै सबैभन्दा कठीन कार्य हुनेछ किनकी सामाजिक दूरी अझै केहि समय कायम राख्नु जरुरी हुनेछ । विभिन्न देशले सामाजिक दूरी र धेरै मानिस जम्मा हुन नहुने दुवै नियमलाइ अझै केहि समय कडाइका साथ अवलम्वन गर्ने संकेतहरु देखिएका छन् ।
अबका दिनमा यात्रा त्यत्तिकै महँगो हुनेछ किनकी यात्राका साधनहरु जस्तैः हवाइजहाजका सिटहरु अब आधा मात्र भरिनेछन् । एउटा जहाजमा २०० सिट क्षमता छ भने त्यसमा १०० प्यासेन्जर मात्र यात्रा गर्नेछन् । हवाइ मात्र होइन जल तथा सडक यातायात साधनहरु पनि पहिले झैं यात्रुहरुले भरिभराउ हुने छैनन्, उनिहरुलाइ ३ । ३ फीटको दूरीमा राख्नु पर्दा हालका सवारी साधनमा झण्डै ५० प्रतिशत सीट खाली राखेर यात्रा गराउनु पर्ने छ जुन भाडा हालको तुलनामा कम्तिमा पनि दोब्बर महँगो हुन जानेछ ।
त्यस्तै पर्यटकहरुले अब हल्का यात्रा गर्नु पर्नेछ किनकी उनका व्यागेजहरु यता उता वसार पसार गर्न मान्छे पाइनेछैन । बरु आफैले उठाउने र एक ठाउँबाट आर्को ठाउँमा लैजाने गर्नुपर्नेछ । आफ्नो लगेज होटलमा रुम सम्म लैजाने र ल्याउने आफैले गर्नुपर्नेछ ।
सामान्यतया होटलका रुमहरुमा दुइ बेड हुन्छन् । दुइ जना सुत्छन् ।
तर अब होटलका कोठाहरु सिंगल बेडका हुनेछन् वा एउटा रुममा एकजना मात्र बस्नेछन् । पर्यटकले रुममा बस्नु अघि त्यो रुम सेनिटाइज गरेको छ, छैन भनि सोध्नेछन् । उसलाइ विश्वस्त गराउनु पर्नेछ । उ बसेर छोडेको कोठा, बाथरुम पुन प्रयोग गर्न फेरी सेनिटइज गर्नुपर्नेछ । यसरी पटक पटक सेनिटाइज गर्नु अर्को चुनौति थपिनेछ । प्रयोग गरिसकेका रुमका टावेल, बेडशीट आदि धुनु, सफा गर्नु त्यत्तिकै जोखिम युक्त हुनेछ ।
होटल वा बजारका रेष्टुरेण्टमा भीड हुने छैन । सामाजिक दूरी कायम राख्न पाहुनालाइ रुम मै खानेकुरा लगिदिने उपयुक्त विकल्प हुनसक्छ । खाने प्लेट, गीलास, चम्चा काँटा आदि सेनीटाइज गरिएको छ, छैन कसरी विश्वास गर्ने ? फेरी ति भाँडा कटलरी कस्ले सफा गर्ने ? तसर्थ सजिलो यो हुनेछ कि रुममा खाना सर्भ गरिने प्लेट र गीलासहरु डिस्पोजेवल हुनेछन् वा रेष्टुरेण्टबाट नै लन्च, डीनरका रेडिमेड प्याकेट बनाएर रुममा पठाइनेछ । प्रयोग गरिसकेपछि तिनलाइ सुरक्षित व्यवस्थापन गर्नुपर्नेछ । दैनिक रुपमा यस्ता जोखिमयुक्त चिज व्यवस्थापन गर्नु कहाँँ र कसरी ? कम चुनौतिपूर्ण हुनेछैन ।
हाल हामीसंग रहेका, हाम्रा विश्वविद्यालले विद्यमान पाठ्यक्रम अनुरुप पढाइ सिकाइ गरेर तैयार पारेका जनशक्ति अबका दिनमा कति उपयोगि हुने हुन् ? वा अनुपयोगी हुनेहुन् ? किनकी अबको पर्यटन व्यावसायमा काम गर्ने कामदारको शैली उहि प्रकारहो हुनेछैन । सबै तहका कामदारहरु सचेत, बढी भन्दा बढी सुरक्षात्मक उपायहरु अपनाउन सक्ने हुनुपर्दछ । अब उनिहरुलाइ पनि भिन्दै ढंगले तैयार गर्नुपर्ने हुन्छ ।
एक्ला एक्लै रमाइलो गर्ने प्यारा ग्लाइडिं, पर्वतारोहण, टेकिंग, बन्जी, आदिमा भन्दा समूहमा रमाइलो गर्ने र्याफ्टिंग, डुंगा, केवल कार, हात्ती सफारी, जीप सफारी आदि मा समस्या उत्पन्न हुनेछ ।
अब यी मनोरन्जन या त एक्ला एक्लै गर्नुपर्ने हुन्छ या अधिक महँगो हुन्छ । जस्तै हात्तीको पीठमा पहिले झैं अपरिचित ४ जना खाँदिएर बस्न सायद अब मानिसलाइ संकोच लाग्नेछ । अब पर्यटकले जति महँगो भएपनि एक्लै हात्ती चढ्नु पर्नेछ । यसको सट्टा एक्लै चढ्ने घोडा वा उँट बरु राम्रे व्यापार गर्नेछ तर जंगल सफारीमा घोडा ? उँट ? समग्रमा भन्दा जसरी विश्व स्वास्थ संगठनले हाल कोभिड १९ को संवन्धमा क्वारेन्टाइनको मापदण्ड तोकिदिएको छ त्यस्तै पर्यटन क्षेत्रमा पनि संवन्धित निकायले एउटा मापदण्ड बनाउने छ जसलाइ सबैले पालना गर्नुपर्नेछ ।
अब सामान्य होटल रेष्टुरेण्टमा पनि नगदमा भुक्तानि हुनेछैनन् ।
बरु डीजीटल भुक्तानी र डिजिटल कारोवार फस्टाउनेछ, नगद कारोवार पूर्ण रुपले निषेध हुनेछ । यसले गर्र्दा नेपालको पर्यटन क्षेत्रमा हुर्किएको हुण्डीको माध्यमबाट नगद भुक्तानि गर्ने प्रथामा स्वत कमि आउनेछ र बैंक मार्फत भुक्तानिको सुरुआत हुनेछ । यसो गर्दा सबै भुक्तानि करको दायरामा आउनेछन् । यसले राज्यको राजस्व संकलमा समेत सकारात्मक प्रभाव पार्नेछ । यि सामान्य आँकलनहरु हुन् । भोलिका दिनमा अवस्था र स्थान सुहाउँदो अनेकन श्रृजनात्मक उपयहरु अपनाइनेछन् ।
कसरी जोगाउने हाम्रो पर्यटन क्षेत्रलाइ ?
हाम्रा ट्राभल कम्पनी, होटल रिसोर्ट, यातायात सेवा आदि क्षेत्रमा व्यावसायीको ठूलो लगानी छ । धेरैमा बैंकहरुको कर्जा छ । महामारीले निम्त्याएको लकडाउनका कारण व्यापार बन्द हुँदा तिनले बैंकको किस्ता बुझाउन सकेका छैनन् भने अर्का तिर कामदारलाइ तलब दिन सकिरहेका छैनन् । उता हज्जारौं कामदार विनाकाम घरमै बस्न बाध्य छन् । यो अवस्था लाइ सबै सम्वद्ध पक्ष मिलेर सुझबुझ ढंगले व्यवस्थापन गर्नु पर्दछ । प्रथमतः राज्यले खेल्ने अभिभावकको भूमिका नै प्रमुख हुन्छ । व्यावसायीहरु अहिले बैंकको व्याज र किस्ता सम्झेर आतंकित छन् । अधिकांश कम्पिनी अब बैंकको ब्ल्याक लिष्टमा पर्न सक्छन्, लिलामिमा जन सक्छन् । यो निश्चित छ उनिहरुले व्यापारबाट बाहेक अन्य उपायबाट ऋण मुक्त हुनसक्ने छैनन् । कम्तिमा पनि अबको दुइ बर्ष राज्यले कम भन्दा कम व्याज दरमा ऋण उपलव्ध गराएर प्रभावित व्यावसायलाइ उठ्न सक्ने बनाउनु पर्दछ साथै करमा सहुलियत गर्नुपर्दछ ।
सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुका कर्मचारीहरुलाइ खर्च सहितको निश्चित बिदा दिएर स्वदेश घुम्न दिने योजनाका बारेमा बारंबार कुरा उठ्ने गरेको छ । यसले मूर्त रुप लिन सकेको छैन । अहिले यो अत्यन्त उपयुक्त समय हो सो योजना लागु गर्ने । साथै नेपालका पर्यटकीय स्थलहरुमा न्यनतम भौतिक पूर्वाधार छन् छैनन्, कुन हालतमा छन् हेरि तिनको सुधारका निम्ति बजेट छुट्याइ तत्काल कार्यमा जुट्नु पर्दछ । हरेक प्रदेशमा आन्तरिक पर्यटन मन्त्रालय हुनु जरुरी छ ।
समुदाय संग हातेमालो
हालको अवस्थाबाट पर्यटन उद्योगलाइ उठाउन व्यावसायी स्वयंले पनि विविध उपाय अपनाउन सक्नु पर्दछ । विश्व पर्यटनको अवस्था हेर्दा अझै केही समय एक देशबाट अर्को देश आवत जावत सहज हुने देखिँदैन तसर्थ आवागमनमा सहजता नहुन्जेलसम्म व्यावसायलाइ जोगाउने भनेको आन्तरिक पर्यटनले नै हो ।
छिमेकी देश भारतको एउटा सानो उदाहरण लिउँः ताज महल हेर्न प्रतिदिन चार लाख मानिस आउँछन् जसमा ९० प्रीतशत भारतिय नै हुन्छन् । आन्तरिक पर्यटन समुदायसंग हातेमालो गरेर अघि बढ्छ । हाल समुदाय र व्यावसाय बिच एउटा अदृष्य दरार छ । साधारण समुदाय होटल र रेष्टुरेण्टमा त्यति जाँदैनन् । यो राम्रो होइन । होटल रेष्टुरेण्टहरुले समुदायसंग घनिष्टता बढाउनु पर्छ । प्राय आर्थिक पहुँच हुनेहरु मात्र रेष्टुरेण्टमा खान जान्छन् भन्ने आम बुझाइ छ । यो आंशिक सत्य पनि हो । यो बुझाइलाइ तोड्नु पर्छ ।
शहरी समुदायका मानिसहरु घरमा दैनिक खाना, खाजा खान्छन् नै । खर्च पनि भएकै हुन्छ । अब त्यही खर्चमा नबढ्ने गरि खाना खान पाइन्छ भने घरमा खाने झन्झट किन ? मानिस रेष्टुरेण्टमा खान मन पराउन सक्छन् । यो सस्तो र नयाँ पन पनि हुन्छ । नयाँ संस्कृतिको थालनी हो ।
हाम्रो समुदायमा साना ठूला पारिवारिक पर्वहरु भैरहन्छन् ।
यस्ता कार्यक्रमहरु होटल रेष्टुरेण्टमा गर्न सकिन्छ । यसका निम्ति नयाँ स्कीम लिएर समुदायमा जानु पर्छ । व्यावसायी आफैले पनि विभिन्न पर्व आयोजना गरेर विशेष छुट दिने, समुदायमा जाने, निम्तो बाँड्ने गर्न सकिन्छ । यस्ता अनेकन श्रृजनात्मक काम गर्न सके आन्तरिक पर्यटन भरपर्दो र दिगो बन्दछ । यति गर्न सकियो भने पर्यटन आश्रीत ठूलो जनसंख्यालाइ त्राण दिन सकिन्छ । जब महामारीको असर अन्त्यहुन्छ र स्थिति सामान्य बन्दछ तब देशको पर्यटनले छलांग मार्नेछ ।