मेलम्ची नगरपालिकाका हार्डवेयर पसलहरु खुल्ने
कपन अनलाइन
सिन्धुपाल्चोक ,बैशाख २२।
मेलम्ची नगरपालिकाले कोरोना संक्रमणका कारण बन्द रहेका हार्डवेयरहरु सञ्चालन गर्न दिने निर्णय छ । जिल्ला कोभिड १९ रोकथाम तथा व्यवस्थापन केन्द्रले जारी गरेको लकडाउन अवधिभर सिन्धुपाल्चोक जिल्लामा सञ्चालित आयोजनाहरुको निर्माण कार्य सञ्चालन गर्ने गराउने सम्बन्धी कार्यविधि २०७७ अनुसार मेलम्ची नगरभित्र सञ्चालित हार्डवेयरहरु सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी जीत बहादुर कार्कीले जानकारी दिएका छन।
मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्याल र नगरभित्र हार्डवेयर सञ्चालन गरि बसेका हार्डवेयर व्यवसायीहरुको संयुक्त बैठक बसी सो निर्णय गरिएको हो ।उक्त निर्णय अनुसार सोमबारबाट सम्पूर्ण हार्डवेयरहरुलाई विहान ७ बजेदेखि १० बजेसम्म दैनिक खोल्न दिईने छ ।
साथै संघीय , प्रदेश तथा स्थानीय सरकारबाट सञ्चालित विकास आयोजनाहरुलाई आवश्यक पर्ने निर्माण सामाग्री तथा निर्माणसँग सम्बन्धित सामाग्री ढुवानी गर्न जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकसँग समन्वय गरी हार्डवेयर व्यवसायीहरुलाई आवश्यक पर्ने पास जारी गर्ने व्यवस्थाको लागि पहल गरिने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी विभिन्न योजना तथा अन्य निर्माणका लागि ढुवानी गरी ल्याईएका निर्माण सामाग्रीहरुको अनलोड सुरक्षा निकायसँग समन्वय गरेर मात्र गरिने र सम्बन्धित निकायबाट जारी गरिएको पासलाई मात्र आधार मानेर अनलोड गरिने निर्णय भएको कार्कीले जानकारी दिएका छन।