उपत्यकाका नाकामा रमिता,साथीहरुले कुरा नबुझ्दा काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यलाई तनाव

उपत्यकाका नाकामा रमिता,साथीहरुले कुरा नबुझ्दा काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यलाई तनाव

कपन अनलाइन

काठमाडौं ,बैशाख १७।

हेटौंडाबाट हरिबोल महत,धुलिखेलबाट अशोक व्याञ्जु देखि भएभरका छिमेकी नगरपालिकाका मेयर विद्यासुन्दरसँग पड्किरहेका थिए । तर, विद्याको निरिहता उनीहरुले बुझेका थिएनन् ।

नागढुंगा, साँगा, फर्पिङ, भट्टेडाँडा हुँदै उपत्यका फर्किन चाहेका हजारौँ सर्वसाधारण त्यहाँ रोकिएका थिए । यीमध्ये कुनै पनि नाका काठमाडौं महानगरपालिकामा पर्दैनन् । तर, बुझ्नेले उपत्यकाको पूरै खाल्डो काठमाडौं महानगर नै बुझिदिए पछी तनावमा परेका थिए काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य।

विराटनगरका मेयर भीम पराजुलीले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई फोन गरे, धम्कीपूर्ण भाषामा । भीमको भनाइ  थियो, ‘यस्तो विपद्को बेलामा म यहाँको मेयर कांग्रेसको भएँ भन्दैमा निर्दोष जनतालाई नागढुंगामा भोकभोकै राख्ने ? काठमाडौं छिर्न नदिने ? के म पनि काठमाडौंबाट आएका सबैलाई त्यतै फर्काइदिउँ ?’

‘यस्तो विपद्को बेलामा म यहाँको मेयर कांग्रेसको भएँ भन्दैमा निर्दोष जनतालाई नागढुंगामा भोकभोकै राख्ने ? काठमाडौं छिर्न नदिने ? के म पनि काठमाडौंबाट आएका सबैलाई त्यतै फर्काइदिउँ ?’

यस्तो गर्दा लकडाउन लागु भएयता राजधानी उपत्यकाका विभिन्न स्थानबाट १ लाख ३५ हजार सर्वसाधारण बाहिरिए ।गृह मन्त्रालयले नै प्रहरीलाई भन्यो, ‘रातिराती उपत्यका छाडेर जान चाहनेलाई नरोक्नु,नदेखेजस्तो गर्नु ।’

यति बेलाको समस्या बाहिरिएकाहरु हैनन्,विभिन्न नाम र बहानामा उपत्यका भित्रिएका ४१ हजार मानिस हुन् । उनीहरु कहाँ गए, कुन गल्ली छिरे ? यसको अभिलेख छैन । उपत्यका छाडेर जानेहरु जुन–जुन गन्तव्यमा पुगे, तिनीहरुलाई त्यहीँका स्थानीय तहले निगरानी गरेकै छन् । कतिपय क्वारेन्टाइनमा राखिएका छन् त कतिपय सामान्य स्वास्थ्य जाँचपछि सामान्य अवस्थामा गाउँघरतिर टहलिँदै छन् ।

उपत्यकाबाट जानेलाई सजिलो र आउनेका हकमा पनि त्यति कडाइ नगर्दा हिजो सोमबारको स्थिति तनावपूर्ण रह्यो ।

वास्तविकता के थियो भने, विराटनगरबाट त्यहाँको महानगरपालिकाले व्यवस्था गरेको गाडीहरुमा आधा पहाडे, आधा मधेसीजस्ता देखिने मानिसहरु नागढुंगासम्म आइपुगे । तर, उनीहरुलाई त्यहाँबाट अगाडि छिर्न दिइएन । घण्टौँ त्यही राखियो । र, १४ घण्टापछि साँझमा ‘जहाँबाट आएको, त्यहीँ जानु’ भनियो ।

यसपछि मोफसलका मेयरहरुको फोन जान थाल्यो, काठमाडौं प्रहरीका कमाण्डरलाई । सोमबार विहानैदेखि काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीसहितको ठूलो डफ्फा काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा तैनाथ थियो ।

त्यसअघि नागढुंगा हुँदै काठमाडौं भित्रिन चाहने सवारी साधन रोकिएका थिए । यसको लर्को झण्डैझण्डै खानीखोलासम्म पुगेको थियो । यो कुरा चाल पाएपछि पृथ्वी राजमार्गको मुग्लिङ खण्ड हुँदै काठमाडौं लक्षित सवारी साधनका केही बाठा ड्राइभरले खानीखोलाबाट बाटो बदले, झ्याप्लेखोलातिर ।

काठमाडौंबाट जाँदा नागढुंगा चेकपोष्ट पुग्नुभन्दा आधा किलोमीटर वरबाट थोरै पश्चिम जाने र खानीखोला तर्फबाट आउँदा दाहिनेतर्फ (स्कुल सँगैको साँघुरो बाटो) बाट गाडी छिरायो भने उनीहरु नागढुंगा चेकपोष्ट छल्दै एकचौटि थानकोट चेकपोष्ट पुग्न सक्छन् । भाग्नुपर्यो भने पुरानो नैकाप छिर्ने नागढुंगा नजिकैको बाटोतिर लाग्दा सीधै कलंकी पुगिन्छ ।

केही टाठाबाठा ड्राइभरले आफ्ना गाडीलाई झ्याप्ले खोलातिर सोझ्याएपछि अनगिन्ती पैदलयात्री, मोटरसाइकलदेखि साना र ठूला गाडी त्यताबाट छिर्न थाले । बस र टिप्पर नअट्ने बाटोमा त्यस्ता गाडीमा पनि छिरे ।

फलतः जाम भयो । त्यसअघि कति संख्यामा मानिसहरु भित्रिए भन्ने कुराको हिसाब किताबै छैन । जब जाम भयो, स्थानीयले प्रहरीमा खबर गरे । अनि, प्रहरीको पनि जिल्ला कमाण्डरकै टोली पुग्यो । यो टोली पुगेपछि छिर्ने क्रम त रोकियो । तर, पैदालयात्रीको आक्रोश थामिसक्नु थिएन ।

२० दिनदेखिको पैदल यात्रा । जाजरकोटका एक दम्पत्ति हातमा काखे बालक च्यापेर हिँड्दै थिए । प्रहरीले झ्याप्लेखोला तर्न नपाउँदै रोक्यो । अनि, बूढाबूढी नै सडकमा थुचुक्क बसे, डाँको छाडेर रुन थाले । पति चौकीदारी गर्ने, पत्नी सडकमा मकै बेच्ने । कोरोनाको डरले गाउँ हिँडेको, तर दाङको लमहीबाट अगाडि बढ्न पाइएन । जाने ठाउँ कतै थिएन । फेरि काठमाडौं फर्किंदै नागढुंगासम्म आए । त्यहाँबाट पनि छिर्न नदिएपछि विचराहरुको केही उपाय नै थिएन ।

भाग्नुपर्यो भने पुरानो नैकाप छिर्ने नागढुंगा नजिकैको बाटोतिर लाग्दा
सीधै कलंकी पुगिन्छ ।

टेकु प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले दम्पत्तिलाई कुनामा ल्याएर केरकार गरे । उनीहरुले भनिरहेको कुरा सही निस्कियो । त्यसपछि उनैले बिस्कुट, पानी खुवाए । थर्मल गन मगाएर ज्वरो जाँचे । अनि, मोबाइल नम्बर, डेराको ठेगाना, चौकीदारी गर्ने ठाउँको नाम, नम्बर र साहुको सम्पर्क नम्बर राखे । अनि, आफैले अलिक परसम्म लगेर छाडिदिए । तर, सबै मानिस यसरी काठमाडौं छिरेका छैनन् । डाँडाको कान्ला–कान्ला छिचोलेर छिरेका छन् । गाडीमै मूलबाटो हुँदै छिरेका पनि कहाँ गए भन्ने कुराको पत्तो छैन ।

सोमबार विराटनगरको गाडी उतै फर्काउने आदेश थियो, गृह मन्त्रालयको । तर, विभिन्न मेयरका गाली र धम्की खप्दै थिए, काठमाडौं महानगरका मेयरले ।

काठमाडौंबाट हेटौँडा छिर्ने तिनै नाकाबाट कसैलाई नपठाइदिए हुन्थ्यो भन्दै छन्, मकवानपुरका सिडियोहरु । तर, काठमाडौं १० का सांसद राजन केसी फर्पिङतिर, ९ का सांसद कृष्णगोपाल श्रेष्ठ चित्लाङ जाने बाटोको मुख मातातीर्थतिर, ललितपुर २ का सांसद नवराज सिलवाल छपेली, भट्टेडाँडातिर डेराडण्डा कसेर बसेका थिए । नवराज त पैदलयात्री देख्नासाथ सर्वसाधारणलाई सडकमै खाना खुवाउँदै, टिप्पर बोलाउँदै कान्ति राजपथबाट हेटौंडातिर पठाउँदै थिए ।

सोमबार गृहले यो क्रममा कडाइ गरेपछि मान्यहरु त फिर्ता भए । तर, बाठा जनताले अर्को बाटो पहिल्याइदिए, निर्माणाधीन काठमाडौं–निजगढको फास्टट्रयाक । मंगलबार विहानसम्म पनि बुङ्मती, सैंबु हुँदै ट्रयाक पनि राम्रोसँग नखनिएको बाटोमा उपत्यका भित्रिनेहरुको लाम लागेको थियो । सूचना पाएपछि गृहले प्रहरी परिचालन गरेको छ ।समाचार साभार :जनआस्था साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।