काठमाडौं महानगरपालिका वडा नं १५ मा राहत वितरण जारी
कपन अनलाइन
काठमाडौं ,चैत २२।
काठमाडौं महानगरपालिका वडा नं १५ लकडाउनमा मजदुर र विपन्न नागरिकहरुलाई राहतस्वरूप खाद्य सामग्री वितरण गरेको छ। विपन्नका प्रतिपरिवार चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारीका दरले सामग्री वितरण गरिएको हो।
शुक्रबार मात्र ५० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको वडा कार्यालयले जनाएको छ। काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका स्वयम्भू, भगवान् पाउ र डल्लुका भित्री क्षेत्रमा राहत वितरण गरिएको हो।
‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई महानगरपालिकाले राहत दिन थालेको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए। लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उनको भनाइ छ। उनले भने, ‘विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने नागरिक पहिलो प्राथमिकतामा रहेका छन्।
वडाबासीको तथ्यांक राख्दै वितरण गरिएको छ।’ राहत सामग्रीको दुरुपयोग हुन नदिनको लागि सम्बन्धित व्यक्तिको घर-घरमा पुगेर राहत वितरण गरिएको उनले प्रष्ट पारे। ‘एक ठाउँमा भेला पारेर वितरण गर्दा सम्बन्धित व्यक्तिले नपाउने आशंका बढी हुने भएकोले घर-घरमा पुगेर दिएका छौँ,’ उनले भने।
काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ। महानगरपालिकाले कोरोना रोकथाम राहत वितरण कोषमा १० करोड बजेट छुटयाएको थियो। राहत वितरणमा वडा १५ मा ७ लाख ५० हजार खर्च भइसकेको पनि डंगोलले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले गएको सोमबार असंगठित क्षेत्रका ज्यालादारी र श्रमिक तथा मजदुरका लागि राहत घोषणा गरेको थियो। सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी राहत वितरण गर्न स्थानीय तहलाई जिम्मा दिएको थियो। महानगरका अन्य वडाले पनि पछिल्लो समय राहत वितरणको कामलाई तीव्र बनाएका छन्।