राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन् जनताका नाममा विशेष सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन् जनताका नाममा विशेष सन्देश

कपन अनलाइन

काठमाडौं ,चैत १३।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसबाट बच्न सर्वसाधारणलाई घरभित्रै बसिदिन आग्रह गर्दै सन्देश जारी गरेकी छन् ।

कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सबै नेपालीलाई घरभित्रै बसिदिन राष्ट्रपति भण्डारीले आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बुधवार एक सन्देश जारी गर्दै सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गरेकी छन् ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म मुलुकभर अत्यावश्यक बाहेक सबै सेवा र हाललाई अन्तर्राष्ट्रिय सीमानाका समेत बन्द गर्ने निर्णयबाट आमजनताको दैनिक जीवनमा केही कठिनाइ भएपनि सरकारको सुझबुझपूर्ण र समसामयिक निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताएकी छन् ।

‘कोरोना भाइरस संक्रमण रोक्न सामाजिक दूरी कायम गर्दै सरसफाईसहित घरमा बस्नु नै उत्तम विकल्प हुने कुरामा पुनः जोड दिन चाहन्छु,’ राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

सरकारले कोरोनाको संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’को अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराएकी छन् ।

‘यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा सदुपयोग गर्नुपर्छ,’ उनले भनेकी छन्, ‘यस घडीमा संयमित बन्दै घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्वद्ध सबै पक्षलाई आ–आफ्नो ठाउँबाट क्रियाशील हुन आह्वान गर्छु ।’

सन्देस :

तपाइँको प्रतिक्रिया ।